इटहरी – इटहरी उपमहानगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजनालाई सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आगामी शैक्षिक सत्रदेखि गुणस्तरीय, जीवनोपयोगी र प्राविधिक शिक्षामा जोड दिने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सबै सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घका अध्यक्ष र जनप्रतिनिधिहरू सहभागी थिए। उपमहानगर प्रमुख हेमकर्ण पौडेलले २७ बुँदे शैक्षिक सङ्कल्प पत्र प्रस्तुत गरे।
मेयर पौडेलले आगामी शैक्षिक सत्र २०८१ देखि शिक्षा समितिका निर्णय अक्षरशः कार्यान्वयन गर्ने दृढता व्यक्त गरे। शैक्षिक गुणस्तर उकास्न पहिले विद्यार्थी, अभिभावक र शिक्षकको मनोविज्ञान उकास्नुपर्ने बताए। सबै विद्यार्थीका लागि एउटै पोसाक तोकिने र विद्यालयहरूले जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको तर्क छ।
विद्यार्थीलाई सामुदायिक विद्यालयतर्फ आकर्षण गर्न कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम शुरू गरिने छ। सरोकारवालाको सल्लाह र समन्वयबाट मात्रै शिक्षा सुधार सम्भव हुने मेयर पौडेलको भनाइ छ। उपप्रमुख संगिता चौधरीले गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य रहेको बताइन्।
शिक्षक अनुभव आदानप्रदान र प्राविधिक शिक्षामा फड्को मार्ने योजना छ। वडा अध्यक्ष रतन कार्कीले विद्यार्थीका लागि एउटै पोसाक तथा शुल्क निर्धारण र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताए।