भोजपुर / भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देश्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो।
प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए।
भविष्यमा सेवा विस्तार गरिने उनको भनाइ छ। प्रसूति सेवा केन्द्र स्थापनापछि मातृ मृत्युदर र शिशु मृत्युदर घट्ने उनको विश्वास छ।
सेवा सञ्चालन गर्न दुई अनमी र दुई अहेबको दरबन्दी सिर्जना गरिएको गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले बताए । दुर्गमका नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा शुरु गरिएको उनको भनाइ छ ।
महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताइन् । सेवा शुरु भएपछि सुरक्षित प्रसूति सेवा लिन बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।
वडामा बर्थिङ सेन्टर स्थापनाले नागरिकहरुमा सहजता थपिएको वडाध्यक्ष सञ्जय राईले बताए । केन्द्र स्थापना भएपछि मानिसहरुले सहज रुपमा सेवा लिन पाएको उनको भनाइ छ ।
विगतमा यहाँका नागरिकलाई प्रसूति सेवा लिन टाढा टाढाका स्वास्थ्य संस्था धाउनु पर्दथ्यो। वडामै प्रसूति सेवा केन्द्र स्थापनाले सेवा लिन सहज भएको स्थानीयले बताएका छन् ।