काठमाडौं – ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको शुक्रबार निधन भएको छ। सप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको हो।
उनका आफन्तका अनुसार पछिल्लो एक सातादेखि ज्येष्ठ नागरिक लामिछानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। ककनी गाउँपालिका र उनको संरक्षणमा रहेको बाला फाउन्डेसनले उनको घरमै चिकित्सक ल्याएर उपचार गराउँदै आएको थियो।
बाटुली लामिछानेको चाहनाअनुसार शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनका ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछानेले दागबत्ती दिएका थिए।
नेपाली नागरिकता अनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको थियो। उनलाई विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक घोषणा गर्न बाला फाउन्डेशनले पहल गरिरहेको थियो।



