काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढीरहेको छ । यससँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।
उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी मंगलबार मध्यराति १२ बजेदेखि स्मार्ट लकडाउन लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य रुपमा गराउन प्रशासनको आदेश छ ।
यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ भने सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागु गरिएको छ ।
पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाईने व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।
जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर मात्र सेवा प्रवाह गर्न भनिएको छ ।



