इन्फो नेपाल — सञ्चारको सञ्जाल

अब रातभर देउसी–भैलो खेल्न पाइने, समयसीमा नतोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । तिहारमा अब रातभर देउसी–भैलो खेल्न पाइने भएको छ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई देउसी–भैलो सञ्चालनमा समयसीमा नतोक्न र २४सै घण्टा सञ्चालन गर्न दिन निर्देशन दिएको हो।

सोमबार भएको सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सातबुँदे परिपत्र जारी गरेको छ। यसअघि विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले राति निश्चित समयपछि देउसी–भैलो खेल्न रोक लगाउने गरी सूचना जारी गरेका थिए।

गृह मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव कायम हुने गरी सुरक्षित, अनुशासित र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न दिन भनेको छ।

मन्त्रालयको निर्देशनअनुसार देउसी–भैलो पूर्ण रूपमा स्वेच्छिक हुनुपर्नेछ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न पाइने छैन। विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा र द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीतसङ्गीत तथा नाराको प्रयोग गर्नसमेत रोक लगाइएको छ।

त्यस्तै, चाडपर्वका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न निर्देशन दिइएको छ।

अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम प्रयोग नगर्न, अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्नसमेत मन्त्रालयले आग्रह गरेको छ।

देउसी–भैलोका क्रममा कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा समस्या देखिएमा प्रहरी नियन्त्रण कक्ष १०० वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४ मा सम्पर्क गर्न भनिएको छ।

गृह मन्त्रालयको नयाँ निर्देशनसँगै देउसी–भैलो सञ्चालनका लागि यसअघि स्थानीय प्रशासनले तोकेका समयसीमाबारे पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ। यद्यपि, २४सै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था भए पनि शान्तिसुरक्षा र सार्वजनिक मर्यादासम्बन्धी नियम पालना गर्नुपर्नेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क