इन्फो नेपाल — सञ्चारको सञ्जाल

भूटानमा हिमताल विस्फोट:प्रसिद्ध तातोपानी कुण्ड बगायो,भारतमा पनि सतर्कता

काठमाडौं । भुटानको उत्तरी गासा जिल्लामा रहेको सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ। बाढीका कारण पुनाखा–गासा राजमार्गमा समेत ठूलो क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।

डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गोस्थित लया गेओगको वाकिला पहाड नजिक रहेको हिमतालबाट अचानक ठूलो मात्रामा पानी बाहिरिएको थियो। राति करिब ८ः१५ बजे बाढीको पानी ताकत्सेमाखाङ क्षेत्रमा पुगेपछि सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको हो।

बाढीले पुनाखा–गासा राजमार्गको करिब ३१.८५ किलोमिटर आसपासको सडक खण्डमा क्षति पुर्‍याएको जनाइएको छ। सडक अवरुद्ध भएपछि अर्को सूचना जारी नभएसम्म उक्त मार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

बाढीको जोखिम बढेसँगै स्थानीय प्रशासनले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। स्थानीयलाई सचेत गराउन चेतावनी साइरनसमेत बजाइएको थियो। अधिकारीहरूले बाढीबाट भएको क्षतिको विवरण सङ्कलन तथा थप जोखिमको मूल्याङ्कन गरिरहेका छन्। तालबाट बाहिरिएको पानीको मात्रा र क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन।

सिन्टाफु हिमताल भुटान सरकारले पहिचान गरेका १७ वटा सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो। सन् २०२३ मा भुटानी विज्ञहरूको टोलीले उक्त तालको अध्ययन गर्दै प्राकृतिक बाँध, हिमनदी र पानीको अवस्थाबारे अनुसन्धान गरेको थियो। सम्भावित जोखिमको निगरानीका लागि उपकरणसमेत जडान गरिएको थियो।

हिमतालबाट निस्किएको पानी मो छु नदी हुँदै पुनाखा पुग्ने गर्छ। त्यहाँ फो छु नदीसँग मिसिएपछि पुनात्साङछु नदी बन्ने र उक्त नदी भारत प्रवेश गर्दा सङ्कोश नदीका रूपमा चिनिने भएकाले बाढीको जोखिम भुटानमा मात्र सीमित नरहने देखिएको छ।

यसैबीच भारतको केन्द्रीय जल आयोगले सम्भावित बाढीलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल र असमका केही क्षेत्रमा विशेष सतर्कता जारी गरेको छ। आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिँदै सङ्कोश नदीको निरन्तर निगरानी गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ।

हिमताल विस्फोटपछि आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र प्रभावित क्षेत्रमा थप जोखिमको निगरानी जारी रहेको जनाइएको छ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क