हेटौँडा | हेटौँडाको बुद्धचोक नजिकै रहेको ‘चन्दन स्विट्स’लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ५० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमन टोलीले लेबल विवरण नभएको घिउ बिक्रीका लागि राखेको भेटेपछि यो कारवाही गरिएको हो।
खाद्य सुरक्षाका दृष्टिकोणले लेबल नभएका उत्पादनहरूले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यो जरिवानालाई आवश्यक कदमको रूपमा अघि सारेको छ। उपभोक्ता संरक्षण र खाद्य सुरक्षामा भएको यो कदमले बजारमा सावधानी बढाउने अपेक्षा गरिएको छ।
आईतबारको अनुगमनमा मकवानपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख तिर्थराज चिलुवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख काशीनाथ घिमिरे, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख राम प्रसाद भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी बल गण नम्बर १४का प्रहरी उपरिक्षक ज्ञानप्रसाद भुर्तेल, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार अग्रवाल लगाएतको उपस्थिति थियो।
अनुगमनको क्रममा, खाद्य पसल, मिठाई पसल र मार्ट गरि ७ वटा पसलहरुमा छानबिन गरिएको थियो। विशेषगरी, हिमालयन स्वीट्स र हिमालयन बेकरीमा अखाद्य तेल र म्याद गुज्रिएका सामग्रीहरू भेटिए। हिमालयन स्वीट्सबाट १ लिटर अखाद्य तेल र हिमालयन बेकरीबाट करिब २ लिटर म्याद गुज्रिएका खाद्य सामग्रीहरू नष्ट गरिएको थियो।
अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले खाद्य सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।