रसुवा | गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर आएको भीषण बाढीले १८ जनालाई बगाएको छ। बेपत्तामध्ये १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक रहेका छन्। प्रहरीले पुष्टि गरेको प्रारम्भिक विवरण अनुसार घटनामा परेका नौ जनाको भने उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवालेका अनुसार उद्धार गरिएकामध्ये केहीको अवस्था गम्भीर छ। बेपत्तामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका उद्दार टोलीका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुनन ठाकुर र लोकेन्द्र बोहरा समेत छन्। उनीहरू बाढीले बगाएका व्यक्तिहरूको उद्दारका लागि खटिएका बेला आफैँ बाढीमा फसेका हुन्।
स्थानीय प्रशासनका अनुसार बाढीले गोसाइकुण्ड–५ भेगको पासाङल्हामु सडक खण्ड समेत भासिँदा धुन्चेदेखि टिमुरेसम्मको सडक पूर्णरूपमा अवरुद्ध भएको छ। रसुवागढी नाकातर्फको आवागमन ठप्प भएको छ। सडक भासिएर ठुल्ठूला चट्टान खसेकाले सडक मर्मत तथा खुलाउने काममा कठिनाइ भइरहेको छ।
बाढीले गोसाइकुण्ड–२ मा रहेको इभी चार्जिङ स्टेशनमा समेत ठूलो क्षति पु¥याएको छ। प्रहरीका अनुसार स्टेशनमा पार्किङमा राखिएका ७–८ वटा गाडी बाढीले बगाएको देखिएको छ। त्यस्तै रसुवागढी भन्सार कार्यालयको यार्डमा समेत क्षति पुगेको छ भने रसुवा हाइड्रोपावरको ड्याममा समेत क्षति पुगेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ।
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार र खोजी कार्यमा खटिएको छ। तर वर्षा अझै नरोकिएको र खोला उग्र बगिरहेकोले काममा चुनौती रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ताको खोजी जारी छ र क्षतिको थप विवरण संकलन भइरहेको छ।
गोसाइकुण्ड गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै तत्कालका लागि नदी किनारका बस्ती र जोखिमयुक्त स्थान खाली गराउन निर्देशन दिइएको प्रशासनले जनाएको छ। घटनाको वास्तविक कारण र क्षतिको यकिन विवरण विस्तृत अनुगमनपछि मात्र आउने जनाइएको छ।
बाढीले सीमावर्ती क्षेत्र र मुख्य पूर्वाधारमा पुर्याएको क्षतिका कारण चीनतर्फका व्यापारी र कामदारसमेत अलपत्र परेका छन्। चिनियाँ पक्षसँग पनि समन्वय गरी बेपत्ताको खोजी तथा उद्धारका लागि संयुक्त प्रयास भइरहेको प्रशासनले जानकारी दिएको छ।
स्थानीयवासीका अनुसार मध्यरातदेखि नै लगातारको भारी वर्षापछि नदीमा आएको आकस्मिक बाढीले एकैछिनमा क्षेत्रभर तबाही मच्चाएको थियो। “यति ठूलो बाढी पहिल्यै देखिएको थिएन, सबैजना भागाभाग भए,” एक स्थानीयले भने।
प्रशासनले जनधनको थप क्षति रोक्न र बाढीपीडितका लागि राहत तथा सुरक्षित स्थानको व्यवस्थापनका लागि तत्काल राहत केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।



