इन्फो नेपाल — सञ्चारको सञ्जाल

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव अस्पतालमै, क्षतिपूर्तिमा जुटेन सहमति

हेटौँडा । मकवानपुरको भीमफेदीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाका मृतकका परिवार र प्रशासनबीच क्षतिपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन। पीडित परिवारले उचित क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएपछि १३ जनाको शव शुक्रबारसम्म हेटौँडा अस्पतालमै रहेको छ।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये सवारी चालकको शव परिवारले बुझिसकेको छ। हेटौँडा अस्पतालका चिकित्सक डा. हरि खड्काका अनुसार सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय चालक रविशङ्करकुमार मण्डलको शव परिवारलाई हस्तान्तरण गरिएको हो। बाँकी १३ जनाको शव अस्पतालको शवगृहमा राखिएको छ।

पीडित परिवारसँग छलफल गर्न हेटौँडा आइपुगेका मधेस प्रदेशसभा सदस्य सञ्जय यादवले मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र अभिभावक गुमाएका बालबालिकाको भविष्य सुनिश्चित गर्न सङ्घीय सरकारसँग माग गरेका छन्।

उनका अनुसार दुर्घटनामा एकै परिवारका छ जनाको मृत्यु भएको छ। दुर्घटनापछि अभिभावक गुमाएका १४ महिनाका, तीन वर्षका र पाँच वर्षका बालबालिकाको पालनपोषण, शिक्षा र भविष्यको जिम्मेवारी राज्यले लिनुपर्ने यादवले बताए।

उनले घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्। राहत, क्षतिपूर्ति र घाइतेको उपचारको सुनिश्चितता नभएसम्म शव नबुझ्ने पीडित पक्षको अडान रहेको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पीडित परिवारले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन्। उनीहरूले सङ्घीय सरकारबाट विशेष राहत तथा क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गरेका हुन्।

यसैबीच, बागमती प्रदेशका स्वास्थ्यमन्त्री गिरबहादुर तामाङले शुक्रबार हेटौँडा अस्पताल पुगेर मृतकका आफन्तसँग छलफल गरेका छन्। उनले पीडित परिवारका माग सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने बताएका छन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले प्रचलित कानुनअनुसार राज्यबाट उपलब्ध हुने क्षतिपूर्ति प्रदान गर्न समस्या नरहेको बताएको डीएसपी काफ्लेले जानकारी दिए। पीडित परिवारले भने थप राहत तथा क्षतिपूर्तिको माग गरेकाले यस विषयमा छलफल जारी रहेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो। छठ पर्व मनाउन घर फर्किरहेका यात्रु सवार उक्त गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।

दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरू अहिले शोकसँगै राहत र क्षतिपूर्तिको प्रतीक्षामा छन्। अभिभावक गुमाएका बालबालिकाको भविष्य, घाइतेको उपचार र पीडित परिवारको जीविकोपार्जनको विषय पनि सरकारको सम्बोधन पर्खिरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क