इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमालेबाट विद्रोह गरेर पार्टी गठन भएको १० महिना नपुग्दै नेकपा (एस) फुटको अबस्थामा

काठमाडौं : नेकपा एमालेबाट विद्रोह गरेर पार्टी गठन भएको १० महिना नपुग्दै नेकपा एकीकृत समाजवादीमा मतभेद चर्किएको छ । मन्त्री फेरबदलको विषयलाई लिएर सुरु भएको विवाद विद्रोहको स्थितिमा पुगेको हो । बजेटमाथिको छलफलकै बीचमा पार्टीले मन्त्रीहरूलाई फिर्ता डाक्ने निर्णय गरेपछि सुरु भएको विवाद आठबुँदे ध्यानाकर्षण हुँदै छुट्टै पार्टी गठनको छलफलसम्म पुगेको छ । पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै असन्तुष्ट नेताहरू छुट्टै पार्टी गठनबारे छलफल थालेको स्रोतको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता विरोध खतिवडाको नेतृत्वमा छुट्टै पार्टी खोल्नेबारे छलफल भइरहेको स्रोतको भनाइ छ । एकीकृत समाजवादीको गत २१ जेठमा बसेको सचिवालय बैठकले पार्टीबाट सरकारमा गएका मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको थियो । त्यसपछि मन्त्रीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई निर्णय फिर्ता गर्न औपचारिक/अनौपचारिक दबाब दिँदा पनि निर्णयबाट पछि नहट्ने संकेत देखाएनन् । यता, अध्यक्ष नेपालले शुक्रबार बसेको पार्टीको पोलिटब्युरोको बैठक पनि बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउने पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका थिए । शनिबारसम्ममा मन्त्रीहरू हेरफेर भइसक्ने जानकारी गराउँदै उनले, 'निर्णय तपाईंहरू कार्यान्वयन गर्न आफैँ लाग्नुहोस्' भने थिए । पार्टी अध्यक्षको अडानबाट चिडिएका उनीहरूले थप सांसदको साथ लिएर नयाँ पार्टी खोल्न सकिनेबारे आन्तरिक छलफल थालेका हुन् । विद्रोह गरेका १० सांसदलाई थप ८ जना सांसदले पनि साथ दिने प्रतिवद्धता जनाएको स्रोतले बतायो । एकीकृत समाजवादीमा अहिले २३ सांसद रहेका छन् । कानुनतः २३ मध्ये १८ सांसदले साथ दिँदा भिन्दै पार्टी खोल्न सकिने भएकाले नेता खतिवडाको नेतृत्वमा नयाँ पार्टी गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ । १० सांसदले बुझाएको ध्यानाकर्षणपत्रमा बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् । उनीहरूले अध्यक्ष नेपालले बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीहरूको शपथ गराउन दबाब दिएको र आफूहरूलाई यो स्वीकार्य नहुने पनि उल्लेख गरेका छन् । प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको सूची असमावेशी भएको भन्दै त्यसमा उनीहरूले आपत्ति जनाएका पनि छन् । नयाँ मन्त्रीहरू सिफारिस गर्दा पार्टीले पुरानो टिम पूरै फिर्ता गर्नुपर्ने र तत्काल संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् । आठबुँदे ध्यानाकर्षणपत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । त्यस्तै, अन्य सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कयस्थ, धनबहादुर बुढा, निरा जैरुले उनीहरूलाई साथ दिएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क