इन्फो नेपाल — सञ्चारको सञ्जाल

कांग्रेसभित्रै मन्त्री फेर्न दबाब

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली कांग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि मन्त्री फेरबदल गर्न पार्टीभित्रबाटै दबाब बढ्दै गएको हो । देउवा निकट एक कांग्रेस नेताले भने, ‘समकक्षी साथी मन्त्री हुनुहुन्छ, खुलेरै मन्त्री फेरौं भन्न पनि सकिएको छैन, उहाँहरूको काम पनि चित्त बुझेको छैन, अहिले प्रधानमन्त्रीलाई हामी नजिकका भनिएका नेताले मन्त्री फेर्न सुझाइरहेका छौं ।’ कांग्रेस स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको कार्यसम्पादनसँग उपसभापति पूर्णबहादुर खड्का पनि असन्तुष्ट रहँदै आइरहेका छन् । यसैगरी देउवासँग निकट रहेका नेता मीन विश्वकर्मा, डिला संग्रौलालगायतका नेता पनि सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कामसँग सन्तुष्ट छैनन् । यसैगरी कांग्रेस महामन्त्री गगन थापाले समेत पार्टीभित्र मन्त्री फेरबदल गर्ने विषयमा अनौपचारिक रूपमा आवाज उठेको बताउँदै आएका छन् । उनले प्रतिनिधिसभामा पहिलोपटक सांसद भएकाले मन्त्री फेरबदल गरेर आफूहरूलाई अवसर दिन भन्दै अनौपचारिक रूपमा गुनासो आइरहेको बताउँदै आएका हुन् । हाल सरकारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीकातर्फबाट मन्त्री छन् । सत्ता गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी छैन । गठबन्धनमा आबद्ध रहेको दल नेकपा एकीकृत समाजवादीले भने प्रधानमन्त्री देउवालाई पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेरबदल गर्न भन्दै लिस्ट नै बुझाइसकेको छ । तर, प्रधानमन्त्री देउवाले सो दलको मन्त्री फेर्ने आग्रहलाई टार्दै आइरहेका छन् । समाजवादी सचिवालयको २२ जेठको बैठकले सरकारमा सहभागी पाँचमध्ये चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा समेत नेकपा एसबाट मन्त्री सिफारिस गरिएकालाई तत्काल मन्त्री नियुक्त गरेर सपथ गराउन प्रधानमन्त्रीलाई दबाब दिइएको छ । यसैगरी बुधबार नै बसेको नेकपा एसको सचिवालय बैठकले समेत पार्टीकातर्फबाट मन्त्री फेरबदल गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको सो दलका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । ‘मन्त्रिमण्डलमा फेरबदल गर्ने भनेर जुन निर्णय हाम्रो पार्टीबाट भएको छ, सो निर्णय तुरुन्त कार्यान्वयन गर्नु प¥यो भन्ने निर्णय गरेका छौं,’ खनालले भने । सरकारमा रहेको अर्को दल माओवादी केन्द्र भित्र पनि आन्तरिक रूपमा मन्त्री फेर्न दबाब छ भने जसपामा पनि मन्त्री फेरबदलको विषयले विवाद झागिँदै गएको छ । जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फर्नुपर्ने पक्षमा छन् भने अध्यक्ष उपेन्द्र यादव मन्त्री फेर्ने मनस्थितिमा पुगेका छैनन् । यो खबर राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क