इन्फो नेपाल — सञ्चारको सञ्जाल

छोराबुहारी विदेश पठाए तर शालिकराम घर फर्किएनन्

बलेवा / वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौँ सहर आउजाउ गरे । बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा बसेर व्यवसाय गर्न थालेको केही वर्ष भयो । सवारीकै सहायतामा एक–दुई पटक काठमाडौँ पुगेर फर्केको अनुभव थियो उनीसँग । छोराबुहारी जापानमा रहेकाले घर आउँदा जाँदा आचार्यले विमानस्थलसम्म लिन र छोड्न जान थालेका थिए । काठमाडौँको विमानस्थलबाट छोराबुहारी आउँदा जाँदा लिन र पुर्याउन जान्थे । केही महिनाअघि जापानबाट घर आएकी बुहारी लक्ष्मी आचार्य जापान फर्किन थालेपछि आचार्यले बुहारीलाई उडाउन जहाज चढेरै काठमाडौँ पुगे । बुहारी लक्ष्मीसहित सुरक्षित काठमाडौँ पुगेका आचार्यले गत शनिबार बुहारीलाई जापान जाने जहाजमा सुरक्षित हिसाबले पठाए तर आफू भने घर फर्किएनन्। शनिबार बुहारी पठाएका आचार्य आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर ७२ नम्बरको विमान दुर्घटनासँगै अस्ताए । बुहारी लक्ष्मी जहाज चढेपछि जापानमा रहेका जेठा छोरा गणेशलाई जानकारी गराए । पोखरामा रहेका कान्छा छोरा लोकनाथलाई आफू फर्किने टिकटको बन्दोबस्त गर्न लगाए । “कान्छो छोरा लोकनाथले भाउजूलाई पठाएपछि शनिबारै पोखरा आउनुस्, अनलाइन टिकट काटिदिन्छु भनेको रहेछ तर भाइले आज यतै बस्छु भनेपछि आइतबार बिहानको टिकट लिएछ”, मृतक शालिकरामका दाजु डिल्लीप्रसाद आचार्यले भने, “अघिल्लो दिन नै पोखरा फर्किएको भए सायद यस्तो भोग्नुपर्ने थिएन ।” बुहारी जापान पुगिनसक्दै विमान दुर्घटनामा भाइ गुमाउनुपरेको आचार्यले सुनाए। मृतक आचार्यका माइला छोरा घनश्याम, कान्छा लोकनाथ र श्रीमती पोखराको नागढुङ्गामा बस्दै आएका छन् । उनले केही वर्षदेखि बागलुङ कालिका होटल सञ्चालन गरेका थिए । आचार्यको निधनले बागलुङको कुँडुले गाउँ शोकमा डुबेको छ । वैदेशिक रोजगारीमा हिँडेकी बुहारी छोडेर फर्किंदा ज्यान गुमाउने बागलुङका आचार्य एक्ला हैनन् । अध्ययन तथा रोजगारीको सिलसिलमा अष्ट्रेलिया हिँडेका छोराबुहारी छोडेर फर्किंदै गरेकी बागलुङ नगरपालिका–१ की सीताकुमारी खड्का पनि घर फर्किएनन् । शनिबार राति खुसीका साथ छोराबुहारीलाई त्रिभुवन विमानस्थलबाट अस्ट्रेलियाका लागि बिदाइको हात हल्लाएकी सीता आइतबार बिहान आफैँ यो संसारबाट बिदा भइन्। आइतबार बिहान सोही विमानस्थलबाट यती एयरलाइन्समा घर फर्कंदै गरेकी खड्का पोखराको आकाशमा अस्ताइन् । छोराबुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा डुबेको छ । छोराबुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए । खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले अनलाइन टिकट लिएपछि सोही विमानबाट पोखरा आउँदै थिइन् । आमाको मृत्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए । “माइजू, भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो”, लामिछानेले भने, “उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन् । यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुःखी बनाएको छ ।” उनीहरूसँगै बागलुङको बडिगाड गाउँपालिका स्थायी घर भएकी कलाकार निरा छन्त्याल र गलकोट नगरपालिका–२ नरेठाँटी घर भएकी बन्दना सुनारको पनि निधन भएको छ । छन्त्याल पोखरामा सञ्चालित एक कार्यक्रममा प्रस्तुतिका लागि आउँदै थिए भने सुनार अमेरिकाबाट काठमाडौँमा उपचार गराइरहेकी हजुरआमा भेट्न आएको थियो । नेपाल आएका बेला जन्मथलो पुगेर फर्किने सुनारको सपना अधुरै रह्यो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क