इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालले भारतलाई बेच्यो किनेको भन्दा १२ करोड बढीको विजुली

काठमाडौँ | नेपालले भारतबाट किनेकोभन्दा बेचेको विद्युत्को मात्रा र रकम बढी भएको छ । नेपालले भारतीय बजारमा विद्युत् निर्यात थालेको तीन वर्षमा पहिलो पटक आयातभन्दा निर्यात बढी भएको हो ।

यो समाचार गोरखापत्र दैनिकमा छ, नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार यसरी गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल खुद निर्यात गर्ने मुलुक बनेको छ । २०८० साउनदेखि २०८१ असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएको छ । त्यसबाट १६ अर्ब ९३ करोड २६ लाख रुपियाँ आम्दानी भएको छ ।

सोही अवधिमा १६ अर्ब ८१ करोड तीन लाख रुपियाँको विद्युत् आयात भएको छ । यस अनुसार नेपालले आयातभन्दा १२ करोड २३ लाख रुपियाँ बढीको बिजुली बेचेको छ । सुक्खा याममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । आँकडा अनुसार नेपाल विद्युत् प्राधिकरणले एक वर्षमै भारतमा छ अर्ब ३५ करोड रुपियाँको विद्युत् निर्यात बढाएको छ भने आयात दुई अर्ब ६३ करोड ३७ लाख रुपियाँ घटाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिले एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरिरहेको छ ।

निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपियाँ ७२ पैसा छ भने हिउँद याममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपियाँ १७ पैसा रहेको प्राधिकरणले जनाएको छ । ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत् निर्यात भएको हो । आव २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपियाँको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपियाँको निर्यात गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताए ।

“लोडसेडिङ निराकरणको अवस्था चिर्दै तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरेकामा गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्थामा मुलुक पुगेको छ,” उनले भने, “यो ऊर्जा क्षेत्रका लागि महìवपूर्ण कोसेढुङ्गा हो ।”

विद्युत् पर्याप्तता बढ्दै जाँदा देशभित्र विद्युतीय सवारीसाधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा समेत गिरावट आएको तथा विद्युत् निर्यात पनि बढ्दा नेपाल र भारतबिचको व्यापार घाटा कम गर्न योगदान पुगेको उनको भनाइ छ । “यसबाट देशको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परेको छ,” उनले भने । नेपालले भारतको इनर्जी एक्स्चेन्जको डे अहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रूपमा पनि प्रवेश पाएको थियो ।

हाल नेपालले मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा दैनिक करिब सात सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो । कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौता अनुसार थप चार सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो। ​मूल्य घटेसँगै आज छा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क