इन्फो नेपाल — सञ्चारको सञ्जाल

बानियाँ नेतृत्व सरकारको सय दिन : कानुन निर्माणदेखि पूर्वाधार विकासमा महत्त्वपूर्ण प्रगति गरेकाे दाबी

मकवानपुर | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा २० साउनमा गठन भएको सरकारले एक सय दिन पूरा गरेको छ । राजनीतिक संक्रमण, जेन–जी आन्दोलन, अविरल वर्षा तथा चाडपर्वबिच पनि सुशासन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै मुख्यमन्त्री बानियाँले मंगलबार सरकारको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री बानियाँले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै तीनवटा कानुन संशोधन, प्रशासनिक संरचना पुनर्संरचना, दुर्गम तथा सीमान्तकृत समुदायका लागि गाँस–बास–कपास सुनिश्चितता तथा विपन्न विद्यार्थीका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अघि बढाएको उल्लेख गरकाे बताएका छन् । उनले यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्नुका साथै अवरुद्ध प्रादेशिक अर्थ–व्यवस्था विधेयक तथा खानेपानी विधेयक दर्ता प्रक्रियासमेत अघि बढाइएको बताए ।

सुशासन प्रवर्द्धनका लागि मन्त्रीदेखि शाखा प्रमुखसम्म कार्यसम्पादन करार प्रणाली लागू गरिएको उनकाे भनाइ छ । स्थानीय तहसँग समन्वय, कर्मचारी क्षमता विकास, सरकारी कामकाजमा तामाङ र नेपाली भाषाको द्विभाषिक अनुवाद प्रणाली, नो हेल्मेट नो फ्युुल अभियानजस्ता कार्यक्रमलाई सक्रिय रूपमा अघि बढाइएको उल्लेख गरे ।

यसबिच अविरल वर्षा, पहिरो तथा जेन–जी आन्दोलनका घटनामा सरकार तीव्र रूपमा सक्रिय रहेको मुख्यमन्त्री बानियाँले बताए । मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना लागू गर्दै १३ वटै जिल्लामा विपत् व्यवस्थापन कोषमा रकम विनियोजन, क्षतिग्रस्त संरचना पहिचान तथा पुनर्निर्माण, आन्दोलनमा जलेका प्रहरी सवारीसाधन किन्न दुई करोड ७५ लाख विनियोजन, नेपाल प्रहरी–सशस्त्र प्रहरी संरचना सुधारमा १५ करोडभन्दा बढी लगानी गरिएको मुख्यमन्त्री बानियाँले जानकारी दिए ।

भौतिक पूर्वाधार विकासका क्षेत्रमा सय दिनभित्र ११.५ किलोमिटर सडक कालोपत्रे, ६.७४ किलोमिटर ढलान, पाँच किलोमिटर ग्राभेल तथा पाँचवटा पुल निर्माण गरेको उनले बताए । १९२ किलोमिटर सडक मर्मत, चेपाङ, बनकरिया, माझी, बोटे समुदायका ३६ घर निर्माण तथा पाँच सामुदायिक भवन निर्माणका काम अघि बढाइएको पनि मुख्यमन्त्री बानियाँले आफ्नो सय दिनको उपलब्धिमा समावेश गराएका छन् । यस्तै, सहरी विकास नीति, जग्गा एकीकरण ऐन, फोहोर व्यवस्थापन तथा क्लाइमेट–रेजिलियन्ट गाइडलाइनका विषयमा विशेष टोली गठन गरी अध्ययन र कार्यान्वयन प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरेको, भक्तपुर अस्पतालमा डायलाइसिस सेवा सुरु, प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी, क्यान्सरपीडितलाई ५० हजारसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण क्षेत्रमा पोर्टेबल अल्ट्रासाउन्ड सुविधा, आयुर्वेद औषधि उत्पादनमा १० नवीन उत्पादक क्षमता विस्तार, जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार, मनहरी– ९ की मिठुमाया सुनारलाई आफ्नै आर्थिक लगानीमा निर्माण गरिएको घर हस्तान्तरणजस्ता गतिविधि सय दिनको मुख्य उपलब्धि भएको मुख्यमन्त्री बानियाँले दाबी गरे ।

कृषि तथा पशुपालन क्षेत्रमा अविरल वर्षाको क्षति न्यूनीकरणका लागि राहत कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । लम्पी स्किन रोगविरुद्ध ९६ हजार ३४७ डोज खोप, २२ पशु अस्पताल भवन निर्माण, भेटेरिनरी सेवा विस्तार, कृषि थोकबजार निर्देशिका निर्माण तथा मकवानपुर–सिन्धुलीलाई खोरेतमुक्त क्षेत्र घोषणा प्रक्रिया अघि बढाइएको विषयलाई पनि मुख्यमन्त्री बानियाँले सयदिने उपलब्धि भनेका छन् ।

यसैगरी उद्योग, व्यापार तथा श्रम क्षेत्रमा दुई हजार ६६७ नयाँ उद्योग–व्यापार दर्ता, ७१२ व्यवसाय अनुगमन, ‘एक वडा–एक उद्यम’ कार्यक्रम कार्यान्वयन, ३५ लाख कागजात डिजिटाइजेसन अभियान र यातायात कागजातमा जरिवाना छुट तथा पुनर्निर्माण व्यवस्था यही सय दिनभित्र लागू मुख्यमन्त्री बानियाँको भनाइ छ ।

युवा, खेलकुद तथा पर्यटन क्षेत्रमा ५० योजनाको लागत अनुमान तयार पारेको, आठ पर्यटन पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण गरेको, ५३७ जना नयाँ गाइड, होटेल तथा एजेन्सी दर्ता, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट हस्तान्तरण, पाँच सय विद्यार्थीलाई साइबरक्राइम तथा लागुऔषध सचेतना कार्यक्रम सञ्चालन गरिएको पनि उनले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क