इन्फो नेपाल — सञ्चारको सञ्जाल

म्यादी प्रहरीको तलब तोकियो, १ लाख १८ हजार भर्ना खोल्ने तयारी

काठमाडौं : आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो । देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड–२०७८’मार्फत म्यादी प्रहरी भर्ना गर्न लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले म्यादीको आवश्यक संख्या, म्यादी परिचालनका लागि बजेट, निर्वाचनमा मौजुदा प्रहरी परिचालनका लागि आवश्य वजेटसहित यातायात साधन खरिदका लागिसमेतको योजना बनाएर मन्त्रालयमा पेस गरिसकेको छ । निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि ७ सय २३ वटा गाडी खरिद गर्नुपर्ने प्रधान कार्यालयको प्रस्ताव छ । म्यादी भर्ना गर्दा पूर्वप्रहरी र पूर्वसैनिकलाई प्राथमिकतामा राख्ने तयारी सरकारको छ । प्रहरी प्रधान कार्यालयले सोहीअनुसार योजना बनाएर गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो ।प्रधान कार्यालयको प्रस्तावमा गृहले थप प्रक्रिया अघि बढाउँदै छ । प्रधान कार्यालयले म्यादी प्रहरी परिचालनका लागि मात्रै ७ अर्ब १९ करोड ९४ लाख बजेट माग गरेको गृह स्रोतले जानकारी दिएको छ । त्यसबाहेक ९ अर्ब २९ करोड रकम प्रधान कार्यालयले सरकारसँग माग गरेको छ । नेपाल प्रहरीमा हाल करिब ७९ हजार, नेपाली सेनामा ९७ हजार, सशस्त्र प्रहरी बलमा ३७ हजार र राष्ट्रिय अनुसन्धान विभागमा ३ हजार जनशक्ति छ । प्रहरीले ३० प्रतिशत जनशक्तिलाई रिजर्भमा राखेर अन्य जनशक्तिलाई निर्वाचनमा खटाउने योजना बनाएको छ । डेढदेखि २ महिनासम्म भर्ना गरिने म्यादीलाई प्रहरी जवानसरह मासिक तलब, रासन, पोसाक र दैनिक खाजा खर्च उपलब्ध गराउने अभ्यास छ । दुई महिनाका लागि भर्ना गर्दा एक जना जवानको मासिक तलब करिब २३ हजार रुपैयाँका दरले साढे ४ अर्ब रुपैयाँ खर्च हुन्छ । रासन भत्ता जिल्लाअनुसार फरक हुनेछ । उपत्यकामा कार्यरत प्रहरीले रासनबापत प्रतिमहिना करिब ५ हजार ५ सय पाउँछन् । एकसरो पोसाकबापतको भत्ता छुट्टै उपलब्ध गराउनुपर्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका बेला पनि प्रहरी प्रधान कार्यालयले करिब १ लाख म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको थियो । २०७४ को स्थानीय चुनावमा ७५ हजार म्यादी भर्ना गरिएको थियो । त्यति बेला म्यादीसहित २ लाख २६ हजार सुरक्षाकर्मी खटिएका थिए । त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गरिएको थियो । दुवै निर्वाचनमा १८ देखि ५४ वर्षसम्म उमेर समूहका म्यादीलाई ५५ दिनको कार्यावधि तोकेर भर्ना गरिएको थियो । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क