इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्वकप फुटबल आजदेखि

काठमाडौँ । चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।  कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । मध्यपूर्वी तथा अरब देशमा आयोजना भएको यो पहिलो विश्वकप हो । सन् १९९४ मा साउदी अरबले विश्वकपमा सहभागिता जनाएपछि अरब देशका लागि कतार विश्वकपको आयोजना सबैभन्दा ठूलो उपलब्धि हो । यसैगरी एसियामा हुने यो दोस्रो विश्वकप हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेको थियो । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ ।  यस संस्करणलाई यस पुस्ताका दुई सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको अन्तिम विश्वकपका रूपमा पनि लिइएको छ । अब यी दुई खेलाडीलाई विश्वकपको मैदानमा पुनः नदेखिने प्रायः पक्का छ । रोनाल्डो र मेसी मात्र होइन, रोबर्ट लेवान्डोस्की, लुइस सुवारेज, लुका मोड्रिच, डानी अल्भेज, म्यानुअर नुअर र थोमस मुलरजस्ता विश्वप्रसिद्ध फुटबलरको पनि अन्तिम विश्वकपका रूपमा हेरिँदै छ ।  त्यसो त विश्वकप फुटबलजस्तो ठूलो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । तर विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि फ्रान्स, इङ्ग्ल्यान्ड र स्पेनलाई पनि विश्वकप जित्न सक्ने टिमका रूपमा आकलन गरिएको छ । प्रसिद्धि कमाउने र आपूmलाई महान् बनाउने ठूलो मञ्चमा नेयमार, किलियन एमबापे, केभिन डी बु्रयन, करिम बेन्जामा, रोबर्ट लेवान्डोस्की, हेरी केनजस्ता उत्कृष्ट खेलाडी चम्किने अपेक्षा गरिएको छ ।  आयोजक कतारको भने घरेलु मैदानमा प्रमुख लक्ष्य नकआउट चरणमा पुग्ने हुनेछ । कतारको अर्को लक्ष्य सफल आयोजना गरेर विश्वको मन जित्नु हो । अहिलेसम्मका विश्वकपमा एक मात्र आयोजक राष्ट्र समूह चरण पार गर्न असफल भएको छ । सन् २०१० मा दक्षिण अफ्रिका घरेलु मैदानमा खेलेर पनि समूह चरणबाट अघि बढ्न सकेको थिएन ।  विश्वकप सुरु हुनुअघि आयोजक राष्ट्र कतार विवादमा छ । मानवअधिकार हनन, समलैङ्गिकताप्रति घृणा र श्रम कानुनजस्ता केही विषय छन्, जसले सुरु हुनुअघि नै कतार विश्वकपमा केही दाग लगाइदिएको छ । यद्यपि अहिले कतारले विश्वकपको सफल आयोजना गरेर विश्वमा आफ्नो उदार र सहिष्णु छवि पेस गर्न खोज्दै छ । यसपटकको विश्वकपमा कतिपय उत्कृष्ट खेलाडी भने चोटका कारण अभागी साबित भएका छन् । फ्रान्सका पल पोग्बा, एन्गोलो कान्टे, अर्जेन्टिनाका पाउलो डिबाला, अस्ट्रियाका डेभिड अलाबा, पोर्चुगलका डिएगो जोटा, जर्मनीका टिमो वेर्नर, इङ्ग्ल्यान्डका रिस जेम्स र सेनेगलका साडियो माने भने विश्वकपका लागि आफ्नो टिममा चयन भएर पनि प्रशिक्षणक्रममै घाइते हुँदा मैदानबाहिर रहनेछन् । नर्वेका इर्लिङ हालान्ड, इजिप्टका मोहम्मद सलाह, इटालीका गियान्लुगी डोनारुमा र कोलम्बियाका लुइस डियाजजस्ता खेलाडी आफ्नो टिममा चयन नहुँदा मैदानबाहिर रहने छन् । एसियाका सर्वश्रेष्ठ फुटबल खेलाडी दक्षिण कोरियाका सन हिउङ मिन पनि चोटका कारण विश्वकप खेल्नेमा शङ्का छ । फुटबलप्रति अत्यधिक आकर्षण रहेको नेपालमा पनि विश्वकपको माहोल बनिसकेको छ । विश्वकपकै दिन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भए पनि फुटबलपे्रमीको ध्यान विश्वकपले आकर्षित गर्ने पक्का छ । यतिबेला नेपाली फुटबलपे्रमी आफ्नो समर्थनको देशको पक्षमा सामाजिक सञ्जाल र सार्वजनिक छलफलमा बहस गरिरहेका भेटिन्छन् । कतिपय नेपाली समर्थक भने कतार रङ्गशालामै पुगेर महाकुम्भको अनुभव गर्ने तयारीमा छन् ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क