इन्फो नेपाल — सञ्चारको सञ्जाल

संसद्को रोस्ट्रममै उभिएर नेपालले अमेरिकी कानुन मान्नुपर्छ भन्ने कि त्यो ठग हो कि मूर्ख : गगन थापा

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको व्याख्यात्मक घोषणामा नयाँ कुरा नभए पनि नागरिकका मनमा रहेका शंशय हटाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “विगत १२ वर्षदेखिका सरकारले एमसीसी मागे, सम्झौता गरे र गिजोले । नेपाली कांग्रेसका निम्ति यो सामान्य सम्झौता थियो । तर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) अलमलिएको र अपव्याख्यामा रहेकाले व्याख्यात्मक घोषणा आएको हो । यो सन्धि ऐनले दिएको अधिकार पनि हो । यसले दलहरुको अप्ठ्यारो फुकेको छ । नागरिकलाई शंशय हटाउने मौका मिलेको छ । व्याख्यात्मक घोषणामा कुनै नयाँ कुरा छैन । तर बिग्रिएको पनि केही छैन ।” “मलाई व्याख्यात्मक घोषणाको जस चाहिँदैन” व्याख्यात्मक घोषणासँगै यसको जस लिने होडबाजी चलेको छ । यसको सूत्रधार रामचन्द्र, प्रचण्ड वा तपाईं को हो भन्ने पत्रकार धमलाको प्रश्नमा महामन्त्री थापाले भने, “यसमा म कुनै श्रेय लिन चाहन्नँ । प्रचण्ड, माधव नेपाल वा रामचन्द्र पौडेल वा जो जसले लिए पनि हुन्छ । सबैभन्दा ठूलो कुरा मुलुक निकास पाउनु हो । श्रेय लिने होडबाजी देख्दा मलाई रमाइलो पनि लागेको छ । साँच्चै भन्नुहुन्छ भने यसको आइडिया अन्तर्राष्ट्रिय कानुनका विज्ञ सेमन्त दाहालले दिनुभएको हो । यस्ता सन्धिमा यसको ठाउँ छ भनेपछि हामीले नेताहरुको छलफलमा लगेका हौं ।” आफूलगायत केही सांसदहरुले एमसीसीसँगै संकल्प प्रस्ताव ल्याउन दुई वर्षदेखि प्रयास गरिरहेको खुलासा पनि उनले गरे । कांग्रेस महामन्त्री थापाले भने, “हामीसँग संकल्प प्रस्तावको विकल्प थियो । तर त्यसका ठाउँमा व्याख्यात्मक घोषणा ल्याएका हौं । यो काम अहिले होइन, केपी ओलीको सरकारले संसद्मा ल्याएपछि नै सुरु भएको हो । तर एउटा अन्तर्राष्ट्रिय सहयोगको विषयलाई हामी कति लघुताभास र हिनताबोधले ग्रस्त छौं ? मुलुकमा कुनै विषय नै नभएजस्तो वषौंदेखि किन एउटै बहस गरिरहेका छौं ।” “एमसीसीलाई राष्ट्रघाती भन्ने ठगहरुलाई चिन्नुपर्छ” संसद्ले गरेको व्याख्यात्मक घोषणा अमेरिकाले नमान्नुपर्ने कुनै कारण नभएको पनि थापाले औंल्याए । उनले भने, “हाम्रो बुझाइ कस्तो हो ? फुर्सद कति हो ? संविधानभन्दा माथि कुनै सन्धि हुन सक्छ ? सन्धिमा एकपक्षीय रुपमा नयाँ कुरा राख्नै पाइँदैन । हामीले त प्रस्ट बनाएको मात्र हो । सडकमा आएको नागरिकप्रति मेरो दुखेसो छैन । तर संसद्को रोस्ट्रममै उभिएर नेपालले अमेरिकी कानुन मान्नुपर्छ भन्ने कि त्यो ठग हो कि मूर्ख हो । आफैं मन्त्रिपरिषद्मा बसेर एमसीसीको निर्णय गर्ने अनि राष्ट्रघाती भन्ने ठगलाई चिन्नुपर्छ । अब ती ठग र मूर्खलाई छाड्नुहुन्न । एमसीसी अझै पनि अनुमोदनकै चरणमा छ । सन्धिमा हामीले गरेको व्याख्या चित्त बुझेन भने अमेरिकाले अगाडि नै बढाउँदैन नि ।” आफूहरुले एमसीसी सम्झौतालाई संसद्मा पर्खेर बस्दा समाजलाई भ्रमित तुल्याउने मौका पाएको पनि उनले स्वीकारे । उनले भने, “नेपालकै कतिपय नेताहरुले भ्रमका पाठहरु पढाउँदा हामी संसद् संसद् भनेर बस्यौं । कुतर्क गर्नेसँग कुनै उत्तर हुँदैन । नेपालको स्वाधीनता खतरामा पर्छ भनेको के ? जनतालाई उल्याउने झुक्काउने काम गरिरहेका छन् । यति धेरै अज्ञानता त पक्कै होइन होला । आफ्नो छोराछोरी अमेरिका पठाउने, उपचारका लागि सरकारी ढुकुटीबाट दिल्ली र बैंकक जाने अनि गरिबका छोराछोरीलाई सडकमा टाउको फुटाउन पठाउने ?” एमसीसीको फाइदा कांग्रेसलाई होइन देशलाई हुने उनको जिकिर थियो । उनले भने, “एमसीसीको ६० अर्ब अनुदान नलिँदा अर्को ऋण लिन कसरी जान सक्थ्यौं ? एउटा विकासको आयोजना बन्दैमा कायकल्प हुने होइन, तर फिर्ता गर्नु नपर्ने, ब्याज तिर्नुपर्ने अनुदान फर्काएर हामी कति राष्ट्रवादी हुन सक्थ्यौं ? तर यसले हामीलाई पूर्वाधारको नयाँ चरण पुर्याएको छ । मेरो उत्सुकता चाहिँ आजसम्म सानो ठूलो परियोजना समयमै सकेका छैनौं । यो निश्चित समयभित्र सम्पन्न गर्नुपर्ने परियोजना हो । यसले हाम्रो आत्मविश्वास जगाउने छ ।” “झलनाथको घरमै चिठी पठाइदिउँला” नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको पालामा पनि एमसीसी सम्झौता अघि बढेको उनको जिकिर छ । थापाले भने, “म बकाइदासँग उहाँको घरमै चिठी पठाइदिन सक्छु । २०६६ माघमा माधव नेपाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री सुरेन्द्र पाण्डे एमसीसीका लागि अमेरिका जानुभएको हो । त्यसपछि झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि अर्थमन्त्री भरतमोहन अधिकारीले अमेरिकी सेक्रेटरीलाई भेट्नका लागि अमेरिकाको ४ दिने औपचारिक भ्रमण जानुभएको हो । उहाँ आउने बित्तिकै सरकार बदलियो । झलनाथजीलाई आफ्नो मन्त्रिपरिषद्को निर्णयबारे अत्तापत्तो नभए अर्कै कुरा हो ।” तपाईंलाई त सामाजिक सञ्जालमा मागेर देश बनाउन खोज्ने नेताका रुपमा चित्रित गरिएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता थापाले भने, “म बुद्धिजीवी परिनँ । तर हाम्रो विकास बजेट ४ खर्बको मात्र छ । त्यसमा ३ खर्ब ऋण हो । विकास गर्नलाई लगानी, ऋण वा अनुदान चाहिन्छ । अब हामी ऋणको ब्याज तिर्न सक्ने अवस्थामा छैनौं । अलिकति स्मार्टली सोच्ने हो भने पूर्वाधार निर्माणका लागि ऋणको भर पर्नै हुन्न । पोखरा र भैरहवा एयरपोर्ट, टनेल, दमकको पार्क सबै ऋणको पासोमा फस्ने अवस्था आयो । उसो भए के बलियाबांगा युवायुवतीलाई खाडीमा पठाउने अनि नाकाबन्द गरेर विकास हुन्छ त ? मेरो मिसन त विदेसिएका सबै नेपालीलाई स्वदेश फर्काउने हो, भारत, चीन, अमेरिकाको प्रतिस्पर्धाको बीचमा सम्भव भएसम्म सहयोग लिएर ८-१० वर्षभित्र देश बनाउने हो ।” “महाभियोग कहाँ हरायो भनेर सभामुखलाई सोध्नुपर्छ” प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग कहाँ हरायो भनेर अब सभामुखलाई सोध्नुपर्ने कांग्रेस महामन्त्री थापाले बताए । उनले भने, “संविधान र नियम अनुसार महाभियोगबारे समिति बनाएर तत्काल छानबिन गराउनुपर्छ । सुवासचन्द्र नेम्बाङको आरोपलाई गलत साबित गर्ने काम सभामुखको हो । प्रधानन्यायाधीशमाथि लगाइएको आरोपबारे संसद्ले निकास दिनुपर्छ ।” “नेपाली कांग्रेसले कसैसित तालमेल गर्दैन” नेकपा एमालेले खोजेको राजनीतिक कारणसँग सहमत नभए पनि संसद् अवरोध खोल्न खुल्ला छलफल गरिने उनले दृढता व्यक्त गरे । थापाले भने, “नेपाली कांग्रेस नेकपा एमालेको विषयमा संवाद गर्ने पक्षमा छ । हामी दुई ठूला पार्टी हौं । सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धाका बीचमा हार्दिकताका साथ संवाद हुनुपर्छ । नेकपा एमाले संसद्भित्र आउने अवस्था तयार गरिदिनुपर्छ । एमसीसी पास भइहाल्यो भनेर कांग्रेसले उसलाई छाड्दैन ।” साथै महामन्त्री थापाले स्थानीय तहमा कांग्रेसको कुनै चुनावी तालमेल नहुने स्पष्ट पारे । उनले भने, “स्थानीय तहको निर्वाचनमा विगतको अभ्यास के छ भने नेपाली कांग्रेसले कसैसँग तालमेल गर्दैन । त्यस्तो हाम्रो नेचर पनि छैन । क्यारेक्टर पनि छैन । नेपाली कांग्रेसले कसैसित तालमेल गर्दैन । गर्न सक्दैन ।”

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क