इन्फो नेपाल — सञ्चारको सञ्जाल

सातामा दुई दिन सार्वजनिक बिदा, शुक्रबार पूरै दिन कार्यालय समय !

काठमाडौं : सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गर्ने गृहकार्य अघि बढाएको छ । बिदा थप्दा सरकारी तवरबाट हुने इन्धन खर्च घट्ने र त्यसबापत बाहिरिने विदेशी मुद्रा जोगिने सरकारको बुझाइ छ । सार्वजनिक बिदा थप्ने विषयमा गत २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको थियो । अहिले सचिव शंकरदास बैरागीसहित केही सचिवको टोलीले यसबारे गृहकार्य गरिरहेको छ । ‘सार्वजनिक बिदा थप्दाको मोडालिटी के हुन्छ, अन्तर्राष्ट्रिय अभ्यास, यसका विकल्पहरू, बिदा थप गर्दा हुने असरलगायतमा विभिन्न कोणबाट छलफल भइरहेको छ,’ एक सचिवले भने । अहिले साप्ताहिक रूपमा शनिबार बिदा छ भने शुक्रबार आधा दिनपछि छुट्टी दिने व्यवस्था छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ अकासिँदा त्यसबापत ठूलो रकम बाहिरिएर घाटा चुलिन थालेपछि नेपाल आयल निगमले इन्धनको आयात कम गर्ने विकल्पस्वरूप सार्वजनिक बिदा बढाउने प्रस्ताव सरकारलाई गरेको थियो । शनिबार र आइतबार लगातार दुई दिन बिदा दिने कि आइतबार र बुधबार बिदा दिने भन्ने विषयमा छलफल चलिरहेको छ । यद्यपि, शनिबार र आइतबार नै उपयुक्त हुने विषयमा अधिकांशको एकमत रहेको एक सचिवले बताए । ‘बीचमा बिदा दिँदा कार्यसम्पादनमा झन् ठूलो असर पर्ने देखिन्छ,’ ती सचिवले भने, ‘त्यसैले शनिबार र आइतबार नै क्रमशः बिदा दिने गरी छलफल अघि बढेको छ ।’ दुई दिन बिदाको व्यवस्था गरिँदा शुक्रबार पनि पूरै दिन कार्यालय समय तोक्ने विषयमा पनि लगभग एकमत छ । त्यस्तै, कार्यालय समय पनि बढाउनुपर्ने मत छ । ‘बिदा बढ्ने भएपछि अरू दिन कार्यालय समय पनि बढाउनुपर्ने आवश्यकता स्वाभाविक हुन्छ,’ अर्का एक सचिवले भने, ‘यसका लागि हालको कार्यालय समयमा बिहान र बेलुका एक या आधा घन्टा समय थप्नुपर्छ ।’ अहिले बिहान १० देखि बेलुकी ५ बजेसम्म कार्यालय समय छ । बिदा थप्दा बिहान नौ या साढे नौ र बेलुका साढे पाँच वा ६ बजेसम्म कार्यालय समय थप गर्नेगरी गृहकार्य भइरहेको छ । दुई दिन बिदाको व्यवस्था गर्दा हाल भइरहेका सार्वजनिक बिदा पनि कटौती गर्ने कि भन्ने विषयमा पनि छलफल चलिरहेको छ । यसका लागि चाडबाड, दिवस, जन्मजयन्ती, अन्य अवसरमा दिइने बिदा कटौती गर्नुपर्छ । गृह मन्त्रालयले गत २६ फागुनमा प्रकाशित गरेको राजपत्र सूचनाअनुसार ०७९ मा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक बिदा छ । ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी यो वर्ष ९५ दिन सार्वजनिक बिदा छ । ‘बिदा थप गर्दा चाडबाड, दिवस, जन्मजयन्तीलगायतका अवसरमा दिइएका बिदा कटौती गर्नुपर्ने हुन्छ,’ ती सचिवले भने, ‘यस्ता बिदा एकदम थोरैमा झार्नुपर्छ, सम्भवतः बढीमा १० दिनको हाराहारीमा मात्र अरू बिदा कायम हुन्छ ।’ बिदा थपका विषयमा अध्ययन गरेर कार्यविधि नै जारी गर्ने तयारी सरकारको छ । यसका लागि मन्त्रिपरिषद्ले पनि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सार्वजनिक बिदा बढाउने विषयमा छलफल जारी रहेको बताए । ‘सातामा दुई दिन बिदा दिने कुरा बहसको विषय छ । छलफलको कुरा हो । यस विषयमा अहिले निर्णय नभइसकेकाले केही भन्न मिल्दैन,’ शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने । -नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क