इन्फो नेपाल — सञ्चारको सञ्जाल

सिजनल भिसामा : न मापदण्ड, न त शुल्क निर्धारण

काठमाडौं : पछिल्लो समय नेपालबाट रोजगारीको खोजीमा ‘सिजनल वर्कर’को रुपमा जानेको संख्या बढ्न थालेको छ। सो भिसा प्राप्त गर्नका लागि कुनै संस्था वा म्यानपावरको भर पर्नुपर्ने हुँदैन व्यक्ति स्वयमले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। तर, आफैले आवेदन दिन नजान्नले भने व्यक्ति अर्थात् एजेन्टको भर पर्दा ठगिने गरेको जानकारहरु बताउँछन्। पछिल्लो समय क्यानडा, नर्वे, इजरायल लगायतका देशले पनि सिजनल कामदार माग गर्दै आएका छन्। यसरी जाने कामदार सहजै जान सक्ने भए पनि प्रक्रिया नजान्नेले म्यानपावर तथा व्यक्तिको भर पर्दा नेपाली कामदार ठगिने गरेको जानकारहरु बताउँछन्।​ कति गए सिजनल भिसामा ? सिजनल भिसाबाट झन्डै एक हजार नेपाली यूके पुगिसकेका छन् भने कतिपय जाने तयारीमा छन्। अहिलेसम्म कति जना नेपाली सिजनल भिसा मार्फत युके पुगे भन्ने यकिन तथ्यांक सरकारसँग छैन। सरकारले पठाएको नभई आफूखुसी जाने गरेकाले सरकारसँग यकिन तथ्यांक नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। अहिले युकेका लागि विभिन्न चार वटा कम्पनीले विश्वभरबाट सिजनल कामदार भित्र्याइरहेका छन्। जुनसुकै देशबाट पनि अनलाइन मार्फत आवेदन गर्न सकिने कम्पनीहरुले जनाएका छन्।​ कति लाग्छ खर्च ? युकेमा सिजनल भिसाका लागि आवेदन दस्तुर बापत २५९ पाउण्ड तिर्नुपर्छ। जुन लगभग ४० हजार नेपाली रूपैयाँ हो। यो बाहेक भिसा आइसकेपछि हवाई जहाजको टिकट काट्नु पर्छ। नेपालदेखि युकेसम्मको हवाई भाडादर एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म पर्ने जानकारहरु बताउँछन्। स्वीकृति लिनुअघि स्वास्थ्य परीक्षण गराउनुपर्छ। यसरी सबै शुल्क गर्दा दुईदेखि दुई लाख ५० हजार रुपैयाँमा सिजनल कामदारको रूपमा युके जान सकिन्छ। तर, सिजनल वर्करको आवेदन प्रक्रिया थाहा नहुँदा कतिपय नेपाली युवा युवती दोब्बर वा सोभन्दा बढी रकम तिरेर गइरहेका छन्।​ छैन कामदार पठाउने मापदण्ड सिजनल वर्कर भिसामा नेपाली कामदार पठाउने मापदण्ड नभएको वैदेशिक रोजगार विभागले जनाएको छ। रोजगारीमा पठाउने मापदण्ड नभएकाले व्यक्तिगत श्रम स्वीकृतिमार्फत जाने गरेको विभागको भनाइ छ। युवाहरु २ वर्षका लागि खाडी जानुभन्दा त ६ महिनाका लागि युके जानु राम्रो कुरा हो। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले भने, ‘रोजगारीमा जाने कामदार कुनै समस्यामा परेको खण्डमा विभागले केही गर्न सक्दैन।’ श्रम स्वीकृति लिएर गएका नेपालीलाई सरकारले राहत तथा उद्धारलगायतका सहयोग गर्दै आएको छ। तर यसरी जाने कामदारलाई समस्या पर्दा, अंगभंग हुँदा के हुने? ६ महिनामा कामदार स्वदेश नफर्किए के गर्ने ? बीमालगायतका विषयमा समस्या हुने गरेको छ। यसलाई सरकारले कुनै निश्चित मापदण्ड बनाएर अगाडि बढ्नु पर्ने श्रम रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्।​ छैन विभागमा उजुरी रोजगारीको खोजीमा सिजनल भिसा मार्फत युके गएका र जाने प्रक्रियामा ठगिएको उजुरी नआएको वैदेशिक रोजगार विभागले जनाएको छ। महँगो शुल्क तिरेर जाने गरे पनि यसबारे कसैले उजुरी नगरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।​ कति नेपाली गए युके ? सरकारसँग रोजगारीको खोजीमा कति नेपाली सिजनल भिसामा युके पुगे भन्ने यकिन तथ्यांक छैन। तर, वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिएका मध्ये करिब १ हजार जना युके गएको वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले जानकारी दिए। यो तथ्यांक आर्थिक वर्ष २०७८/७९ को हो। तीमध्ये १ सय २८ जना महिला र ८ सय ९ जना पुरुष रहेका छन्।​ कार्यविधिको तयारीमा सरकार सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अहिले युकेसँगै दक्षिण कोरिया, क्यानडालगायतका देशमा सिजनल वर्करको रुपमा नेपाली कामदार जान लागेको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। उनले भने, ‘यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामीले सबै मन्त्रालयसँग छलफल गरिरहेका छौँ। अब कार्यविधि बनाएर यसलाई व्यवस्थित गर्छौं।’ हाल नेपाली कामदार विभिन्न मुलुकमा काम गर्न गएका छन्, तिनलाई समस्यामा पर्दा सरकारले उद्धार गर्न सक्दैन। कार्यविधि बनेपछि सिजनल वर्करले भोग्दै आएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ। उक्त कार्यविधिले मौसमी रोजगारका लागि विदेश लान वा जान मापदण्ड तय गर्ने, श्रम स्वीकृति दिने, कामको प्रकृतिसँगै आम्दानी, सुरक्षालगायतका विषयमा पनि ध्यान दिइने उनले बताए। सरकारले लागू गरेको 'फ्रि भिसा फ्रि टिकट'मार्फत कामदार पठाउने तयारी भएको मन्त्रालयको भनाइ छ। सन् २०२१ मा युके सरकारले सिजनल वर्करको भिसा प्रणाली सन् २०२२ देखि २०२४ सम्म कायम हुने घोषणा गरेको थियो। युकेले सन् २०२२ मा ४० हजार कामदार भित्र्याउने योजना छ। जसमा ३० हजार कामदारको भिसा सुनिश्चित भइसकेको युके सरकारले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क