इन्फो नेपाल — सञ्चारको सञ्जाल

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन थाल्यो। वर्षौंका सम्झना बोकेका घरका ढोकाहरू बन्द भए। तर, अहिले तिनै पुराना घरका ढोका फेरि खुल्न थालेका छन्। हिजो आफ्नै परिवार बस्ने घरमा आज टाढाटाढाबाट आएका पर्यटक बास बस्न थालेका छन्।

यो बदलिँदो दृश्य हो, मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँको। ऐतिहासिक भीमफेदी बजारबाट करिब चार किलोमिटरको दूरीमा रहेको यो गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। चारैतिर हरिया डाँडा, चिसो हावापानी, शान्त वातावरण र मौलिक ग्रामीण जीवनशैली यहाँका विशेषता हुन्। तर, सुन्दर गाउँ भएर मात्रै मानिसलाई रोक्न सकिएन। रोजगारी, शिक्षा र सुविधाको खोजीमा स्थानीय बासिन्दा हेटौँडा, काठमाडौँलगायतका सहरतिर लागे। त्यससँगै गाउँका कतिपय घरहरू खाली हुँदै गए।

पछिल्लो एक वर्षयता भने सुपिङको परिचय फेरिन थालेको छ। बसाइँसराइले रित्तिएका घरलाई सिँगारेर पर्यटक बस्ने ठाउँ बनाइएपछि गाउँमा नयाँ चहलपहल थपिएको छ। खाली घरलाई पुनः प्रयोग गर्दै पर्यटन व्यवसायी देवेन्द्र नेपालले सञ्चालन गरेको ‘सुपिङ गोर्ज क्याम्प’ अहिले गाउँको आकर्षण बनेको छ।

नेपालले स्थानीयका नौवटा घर भाडामा लिएर पर्यटन व्यवसाय सुरु गरेका हुन्। पुराना घरको मौलिक स्वरूपलाई जोगाउँदै आवश्यक सुविधा थपेर पर्यटकका लागि बसोबासको व्यवस्था मिलाइएको छ। नयाँ भवन निर्माण गरेर मात्रै पर्यटन व्यवसाय गर्नुपर्छ भन्ने सोचभन्दा फरक, पहिले नै बनेका तर प्रयोगविहीन घरलाई उपयोग गर्ने उनको अवधारणा छ। यसलाई उनले ‘रिनेष्ट टुरिजम’ नाम दिएका छन्।

“जसरी एउटा चराले छाडेर गएको गुँडमा अर्को चरा आएर बस्छ, त्यही मान्यतामा मैले सुपिङमा पर्यटन व्यवसाय सुरु गरेको हुँ”, नेपालले भने, “पर्यटन व्यवसायबाट हुने लाभ समाजको तल्लो तहमा रहेका स्थानीयसम्म पनि पुग्नुपर्छ भन्ने मेरो मान्यता हो।”

नेपालका अनुसार पर्यटनले पर्यटकलाई सुविधा दिने मात्र होइन, स्थानीय उत्पादनको बजार विस्तार र गाउँमै रोजगारी सिर्जना गर्न पनि सहयोग गर्नुपर्छ। यही सोचअनुसार उनले करिब १५ वर्षअघि मकवानपुरकै चित्लाङमा पर्यटन व्यवसाय सुरु गरेका थिए। सुपिङमा पनि त्यही अवधारणालाई अघि बढाएका हुन्।

सुपिङ गोर्ज क्याम्पमा पुग्दा पुरानो गाउँले परिवेश र आधुनिक सुविधाको मिश्रण देख्न सकिन्छ। रातो माटो र कमेरोले लिपपोत गरिएका घर, परम्परागत सन्दुक, ठेकी, जाँतो र हलोजस्ता सामग्रीले ग्रामीण जीवनशैलीको झल्को दिन्छन्। ढुङ्गेधाराको शैलीमा बनाइएका पानीका धारा, व्यवस्थित स्नान कक्ष र सजाइएका आँगनले पुराना घरलाई नयाँ आकर्षण दिएका छन्।

दिनमा वरपरका हरिया डाँडा र प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गर्छन् भने साँझ परेपछि घर र परिसरमा जडान गरिएका बत्तीले वातावरणलाई थप रमणीय बनाउँछन्। परिसरमा पर्यटकलाई लक्षित गरेर सानो पौडी पोखरीसमेत बनाइएको छ। पुराना घरको स्वरूपलाई सकेसम्म कायम राख्दै पर्यटकका लागि आवश्यक सुविधा थपिएको व्यवस्थापक सन्देश जोशी बताउँछन्।

उनका अनुसार भाडामा लिइएका नौ घरमध्ये चारवटालाई सजाएर पाहुना राख्ने व्यवस्था मिलाइएको छ। यसबाहेक थप छवटा कटेज पनि सञ्चालनमा छन्। परिवारसँग शान्त वातावरणमा समय बिताउन चाहने, साथीहरूको समूहमा घुम्न निस्कने तथा गाउँको मौलिक जीवनशैली अनुभव गर्न चाहने पर्यटक यहाँ आउने गरेका छन्।

सुपिङको आकर्षण बसोबासमा मात्रै सीमित छैन। यहाँ पुग्ने पर्यटकले स्थानीय उत्पादनबाट बनेका परिकारको स्वादसमेत लिन पाउँछन्। ढिँडो, सिस्नो, गुन्द्रुक, स्थानीय चामल र लोकल कुखुराका परिकारलाई प्राथमिकता दिइएको छ। क्याम्प सञ्चालनका लागि २६ रोपनी जग्गा भाडामा लिइएको छ। त्यसमध्ये १५ रोपनीमा खेतीपाती गरिएको छ।

यसअघि सूर्यमुखी फूल लगाइएको जमिनमा अहिले तोरी छरिएको छ। क्याम्पमै उत्पादन गरिएको सूर्यमुखीको तेल प्रयोग गरेर पाहुनाका लागि खाना बनाउने गरिएको जोशीले जानकारी दिए। तोरी उत्पादन भएपछि त्यसकै तेल प्रयोग गर्ने योजना रहेको उनले बताए। परिसरमा एभोकाडो, नासपाती, अम्बालगायतका फलफूलका बिरुवासमेत रोपिएका छन्। भविष्यमा पर्यटकलाई आफ्नै परिसरमा उत्पादित फलफूल खुवाउने लक्ष्य राखिएको छ।

यसरी पर्यटनसँग कृषिलाई जोड्ने प्रयासले गाउँका किसानलाई पनि फाइदा पुर्‍याउन थालेको छ। पर्यटकका लागि आवश्यक तरकारी, सागसब्जी, दाल, अन्न तथा अन्य खाद्यवस्तु स्थानीय किसानबाट समेत खरिद गर्ने गरिएको छ। पहिले घरमै खपत हुने वा बिक्रीका लागि बजारसम्म पुर्‍याउनुपर्ने कतिपय उत्पादनले अहिले गाउँमै ग्राहक पाउन थालेका छन्।

पर्यटन व्यवसायले स्थानीयलाई रोजगारीको अवसर पनि दिएको छ। सुपिङका युवा प्रमेश मगर आफ्नै गाउँमा सञ्चालन भएको क्याम्पमा काम गर्छन्। रोजगारीका लागि गाउँ छाड्नुपर्ने अवस्था नआएकोमा उनी खुसी छन्। आफ्नै ठाउँमा काम गर्न पाउनु महत्त्वपूर्ण अवसर भएको उनको अनुभव छ।

क्याम्पमा अहिले नौ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। तीमध्ये अधिकांश स्थानीय बासिन्दा रहेको व्यवस्थापक जोशीले बताए। रोजगारीसँगै घरधनीले भाडा र किसानले आफ्ना उत्पादन बिक्रीबाट आम्दानी गर्न थालेका छन्। भाडामा लिइएका घरबापत मासिक २७ हजार ७०० रुपैयाँ तिर्ने गरिएको छ भने खेतीयोग्य जग्गासहितको २६ रोपनी क्षेत्रका लागि वार्षिक एक लाख २० हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ।

बसाइँसराइले सुनसान बन्दै गएको गाउँमा पर्यटनले केही आर्थिक गतिविधि थपेको छ। प्रयोगविहीन घर आम्दानीको स्रोत बनेका छन्। झाडीले ढाकिएका आँगन सफा भएका छन्। बाँझो रहेका कतिपय खेतबारीमा फेरि खेती हुन थालेको छ। गाउँमै उत्पादन हुने वस्तुको खपत बढ्दा स्थानीयलाई पनि उत्पादनतर्फ प्रोत्साहन मिलेको छ।

सुपिङ पुग्ने पर्यटकका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ। पाँच जनासम्मको समूहमा आउनेका लागि प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँको प्याकेज छ। यसमा बेलुकाको खाना, रातको बसाइ र बिहानको खाजा समावेश गरिएको छ। दम्पतीका लागि छ हजार रुपैयाँको प्याकेज निर्धारण गरिएको छ भने एक्लै आउने पर्यटकका लागि तीन हजार ५०० रुपैयाँको व्यवस्था छ।

काठमाडौँ तथा हेटौँडाबाट आउने पाँच जनाभन्दा बढीको समूहका लागि यातायात व्यवस्थासहित प्रतिव्यक्ति चार हजार ५०० रुपैयाँको प्याकेज उपलब्ध रहेको जोशीले जानकारी दिए। क्याम्पमा सामान्यतया पारिवारिक समूहका ३५ देखि ४० जनासम्म राख्न सकिने व्यवस्था छ। विद्यार्थीको समूह भए एकैपटक ७० जनासम्म बसोबास गराउन सकिने उनले बताए।

व्यवसाय सञ्चालन भएको करिब एक वर्षको अवधिमा औसत रूपमा क्षमताको झन्डै ६० प्रतिशत उपयोग भइरहेको क्याम्प व्यवस्थापनको भनाइ छ। यहाँ हेटौँडा र काठमाडौँलगायतका स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन्। विदेशी पर्यटकको आगमन पनि हुने गरेको भए पनि रसुवामा आएको बाढीपछि उनीहरूको सङ्ख्यामा केही कमी आएको जोशीले बताए।

सुपिङ घुम्न जानेका लागि क्याम्प वरपरको वातावरण मात्रै आकर्षण होइन। नजिकै रहेको ऐतिहासिक भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापानी गढी र हात्तीसारजस्ता स्थानले यात्रालाई थप रोचक बनाउन सक्छन्। छोटो दूरीको पैदलयात्रा गर्न चाहनेका लागि पनि यहाँ अवसर छ। एकातिर प्रकृतिसँग नजिकिने वातावरण छ भने अर्कोतिर मकवानपुरको इतिहास, संस्कृति र ग्रामीण जीवनशैली बुझ्ने अवसर पनि पाइन्छ।

बढ्दो बसाइँसराइ नेपालको पहाडी भेगका धेरै गाउँको साझा समस्या हो। सुविधाको खोजीमा मानिस सहर पस्दा गाउँका घर रित्तिने, खेतबारी बाँझिने र स्थानीय आर्थिक गतिविधि कमजोर हुने क्रम बढिरहेको छ। यस्तो अवस्थामा सुपिङमा सुरु भएको प्रयासले खाली घरलाई पनि पर्यटनको स्रोत बनाउन सकिने सम्भावना देखाएको छ।

यद्यपि, एउटा पर्यटन व्यवसाय सञ्चालन हुँदैमा गाउँबाट हुने बसाइँसराइ रोकिन्छ वा सबै स्थानीयको आर्थिक अवस्था फेरिन्छ भन्ने होइन। तर, उपलब्ध घर, जमिन, स्थानीय उत्पादन र मौलिक संस्कृतिको उपयोग गरेर गाउँमै आर्थिक अवसर सिर्जना गर्न सकिन्छ भन्ने एउटा उदाहरण भने सुपिङ बनेको छ।

हिजो मानिस बस्न छाडेपछि सुनसान भएका घरमा आज पाहुनाको चहलपहल छ। बन्द ढोका खुलेका छन्, आँगन सफा भएका छन् र पुराना घरले नयाँ प्रयोजन पाएका छन्। आफ्नोपन हराउन नदिई पर्यटनसँग जोड्ने यही प्रयासले सुपिङको परिचय बिस्तारै बदलिरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क