देशबागमती प्रदेशहेटौँडा सडक विस्तारबारे मेयर लामा: ‘कामको जिम्मा हामी लिन्छौँ, पीडितको पक्षमा उभिन्छौँ’

हेटौँडा सडक विस्तारबारे मेयर लामा: ‘कामको जिम्मा हामी लिन्छौँ, पीडितको पक्षमा उभिन्छौँ’

हेटौँडा | हेटौँडा बजारभित्र पर्ने त्रिभुवन राजमार्गको सडक विस्तारका लागि २५ गज क्षेत्र खाली गर्ने कार्य भएसँगै नगरप्रमुख मीना लामाले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै प्रभावित नागरिकलाई आवश्यक सहजीकरण र राहतका प्रतिवद्धता दोहोर्याएकी छन्। उनले सडक विस्तारलाई ‘सामान्य काम नभएको’ भन्दै ऐतिहासिक कार्य गर्न साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरिन्।

लामाले मन्त्री कुलमान घिसिङ, प्रदेश सरकार, जिल्ला प्रशासन, सडक डिभिजन, सुरक्षा निकाय, स्थानीय युवादेखि उपमहानगरका जनप्रतिनिधि तथा कर्मचारीसम्म सबैलाई धन्यवाद दिँदै भनिन्, “हामी कामको जिम्मेवारी लिन्छौँ। पीडित–प्रभावितका पक्षमा उभिन्छौँ।”

सडक विस्तारका कारण घर तथा व्यवसाय प्रभावित भएकाहरूलाई राहत दिने लक्ष्यसहित लामा अगाडि बढेकी छिन्। उनका अनुसार प्रभावितलाई पुनः घर–संरचना निर्माण गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत पहल गरिनेछ।

त्यसैगरी, घर पुनर्निर्माण गर्न चाहनेलाई नक्सापास प्रक्रिया फास्ट–ट्र्याकबाट छिटो र झन्झटरहित बनाइने प्रतिबद्धता उनले व्यक्त गरिन्। प्रभावित व्यवसायीलाई व्यवसाय कर छुट दिने प्रस्ताव नगरसभामा लैजाने तयारी भएको उनले बताइन्।

सडक विस्तारका क्रममा घरबारविहीन बनेकाको अवस्था विशेष रूपमा सम्बोधन गरिने उनको भनाइ छ। “पीडितका समस्यामाथि पालिकाले अभिभावकको भूमिका निर्वाह गर्नैपर्छ,” लामा भन्छिन्, “आवास व्यवस्थापनका लागि उपयुक्त विकल्प खोजिन्छ।”

उद्योग वाणिज्य संघलगायत सरोकारवालासँग समन्वय गरेर प्रभावित व्यवसायलाई निरन्तरता दिने उपाय निकालिने उनले स्पष्ट पारिन्।

मेयर लामा सडक विस्तारपछि हेटौँडा शहरलाई नयाँ रूप दिनुपर्नेमा जोड दिँदै भन्छिन्, “यो शहरलाई ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व झल्कने गरी पुनः परिकल्पना गर्नुपर्छ।”

उनका अनुसार भत्किएका संरचनालाई व्यवस्थितरी रूपमा छिट्टै पुनर्निर्माण गराई सुन्दर, चौडा र नमूना हेटौँडा शहर बनाउनेतर्फ नगरप्रमुखको ध्यान केन्द्रित हुनेछ।

लामाले पीडितको पीडा बुझ्ने बताउँदै, “घर भत्किदाको दर्द असामान्य नै हो। तर सडक विस्तारमा साथ दिनुहुने सबै घरधनीकाे दृढताप्रति धन्यवाद व्यक्त गर्छु,” भनिन्।

उपमहानगरपालिकाको आजको कार्यपालिका बैठकले प्रभावितका लागि राहत, ऋण, करछुट, आवास तथा पुनर्निर्माणसम्बन्धी प्रस्तावहरू नगरसभा समक्ष पेस गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img