मकवानपुर । देशव्यापी रूपमा बालविवाह रोक्न विभिन्न कार्यक्रम संचालन भइरहेका छन् तर आँकडाले बालविवाहको परिणामस्वरूप किशोरी अवस्थामै आमा बन्नेको सङ्ख्या घटेको छैन । मकवानपुरको हेटौडा अस्पतालको तथ्याङ्कले यसलाई पुष्टि गर्दछ ।
पछिल्लो पाँच वर्षको अवधिमा हेटौडा अस्पतालमा एक हजार एक सय ३५ जना किशोरीले २० वर्ष भन्दा कम उमेरमै सन्तान जन्माएको पाइएको छ । तथ्याङ्कका अनुसार किशोरी आमा बन्नेको सङ्ख्यामा हरेक वर्ष वृद्धि भइरहेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा एक सय ७७ जना किशोरीले सन्तान जन्माएका थिए भने २०७६/७७ मा यो सङ्ख्या एक सय ९२ पुगेको थियो । त्यस्तै २०७७/७८ मा दुई सय ३५, २०७८/७९ मा दुई सय ५५ र विगत आर्थिक वर्ष २०७९/८० मा दुई सय ७६ जना किशोरीले सन्तान जन्माएका छन् । जुन तथ्यांक हेटौंडा अस्पतालको मात्रै हो ।
हेटौडा अस्पतालमा पछिल्लो पाँच वर्षयता १६ हजार एक सय २२ जना महिलाले सुत्केरी भएका थिए । जसमध्ये एक हजार एक सय ३५ जना २० वर्ष भन्दा कम उमेरकै थिए । यो आँकडा कूल सुत्केरी महिला सङ्ख्याको सात प्रतिशत हो ।
स्वास्थ्यकर्मीहरू किशोरी गर्भावस्थालाई जोखिमपूर्ण मान्दछन् । किशोरी आमा र बच्चा दुवैको स्वास्थ्यसम्बन्धी जटिलता आउन सक्छ । तर बालविवाह रोक्न सरकारी तथा गैरसरकारी संस्थाहरूको प्रयासले अपेक्षित रूपमा सफलता प्राप्त गर्न सकेको छैन ।
यसै बिषयमा कुरा गर्दै हेटौंडा अस्पतालका मेसु श्रीधर अर्यालकाले नेपालमा बालविवाह र किशोरावस्थाकै गर्भावस्था जस्ता समस्यामाथि कडा कानुनी कारबाही अनिवार्य रहेको बताए । उनले भने "पहिलेको समाजले ७ वर्षको उमेरलाई विवाहयोग्य उमेर मान्दथ्यो भने अहिले धेरैले १७-१८ उमेरलाई विवाहयोग्य मान्दछन् । यसबारे जनचेतना जगाउन जरुरी छ।"
चालु आर्थिक वर्षको साउन महिनामा २७ जना किशोरीहरु आमा बनेका थिए । यस्तै, भदौ महिनामा २५ जना, असोज महिनामा ३३ जना र कार्तिक महिनामा २२ जना किशोरी आमा बनेका थिए । हेटौंडा अस्पतालबाट प्रसुति सेवा गराउनमध्ये मंसिर महिनामा २३ र पुस महिनामा १२ जना किशोरीले शिशु जन्माएका हुन् । यस्तै, माघ महिनामा १६ जना, फागुन महिनामा १७ र चैत महिनामा २० जना किशोरी आमा बनेका अस्पतालले जनाएको छ ।
बाल्यावस्थामै विवाह भएर किशोरी अवस्थामा गर्भवती हुनु पर्ने बाध्यता किशोरी जीवनमाथि गम्भीर उल्लङ्घन हो । यसबाट किशोरीको शिक्षा, स्वास्थ्य र मानवअधिकारमा नै गम्भीर प्रभाव पर्न सक्छ । तसर्थ बाल्यविवाहलाई कम गरी किशोरी गर्भावस्थाका जोखिमबाट बच्न आवश्यक छ ।
हेटौडा अस्पतालका अनुसार पछिल्लो पाँच वर्षयता अस्पतालमा ओपिडी सेवा लिनेको सङ्ख्या पनि बढ्दो छ । विगत आर्थिक वर्षमा एक लाख ५७ हजार जनाले अस्पतालको ओपिडी सेवा लिएका थिए भने आकस्मिक सेवा लिनेको सङ्ख्या ६२ हजार नौ सय २६ पुगेको छ ।