फिचरहेटौँडामा बजार विस्तार गर्दै डीडीसी, दुई विशेष बिक्री केन्द्रबाट गुणस्तरीय उत्पादनको बिक्री...

हेटौँडामा बजार विस्तार गर्दै डीडीसी, दुई विशेष बिक्री केन्द्रबाट गुणस्तरीय उत्पादनको बिक्री सुरु

हेटौँडा । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादनको बजार विस्तारसँगै गुणस्तर व्यवस्थापनलाई प्राथमिकता दिँदै हेटौँडामा दुई विशेष बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। उपभोक्तासम्म पुग्दा दूध तथा दुग्धजन्य पदार्थको उचित तापक्रम कायम राख्ने र बिक्री वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले संस्थानले विशेष बिक्री केन्द्रको अवधारणा अघि बढाएको हो।

आइतबारदेखि हेटौँडा उपमहानगरपालिका–४ को हुप्रचौर नजिक र वडा नं २ को कान्तिराजपथमा सञ्चालनमा आएका बिक्री केन्द्रमा निजी क्षेत्रबाट करिब ३० लाख रुपैयाँ लगानी भएको छ। केन्द्रको नगरप्रमुख मीना कुमारी लामाले उद्घाटन गरेकी हुन्।

डीडीसीको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालका अनुसार संस्थानका उत्पादन मात्रै बिक्री गर्ने विशेष केन्द्र हेटौँडामा पहिलोपटक सञ्चालनमा ल्याइएको हो। यसअघि किराना, फलफूललगायत विभिन्न पसलबाट डीडीसीका उत्पादन बिक्री हुँदै आएका थिए।

दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर जोगाउन उत्पादनदेखि उपभोक्तासम्म पुग्ने सम्पूर्ण प्रक्रियामा उचित तापक्रम कायम गर्नुपर्ने खनाल बताउँछन्। सामान्य पसलमा सामग्रीको प्रकृतिअनुसार भण्डारण नहुँदा गुणस्तरसम्बन्धी समस्या देखिन सक्ने भएकाले विशेष बिक्री केन्द्र सञ्चालन गरिएको उनले जानकारी दिए।

उनका अनुसार काठमाडौँमा प्रभावकारी देखिएको यो अवधारणालाई हेटौँडामा विस्तार गरिएको हो। छुट्टै बिक्री केन्द्र सञ्चालनले उपभोक्तासँग प्रत्यक्ष सम्पर्क बढाउने, उत्पादनप्रतिको विश्वास कायम गर्ने र संस्थानको आम्दानी वृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजना प्रमुख खनालले बिक्री केन्द्र विस्तारबाट डीडीसीको आम्दानी बढेमा किसानबाट सङ्कलित दूधको भुक्तानी छिटो उपलब्ध गराउनसमेत सहयोग पुग्ने बताए। संस्थानको आम्दानी र दुग्ध उत्पादक किसानबीच प्रत्यक्ष सम्बन्ध रहने भएकाले बजार विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

हेटौँडामा डीडीसीका उत्पादनको पहुँच बढाउन सातवटा वितरण मार्ग निर्धारण गरिएका छन्। सम्भावित बिक्री स्थान पहिचान गर्दै चालु आर्थिक वर्षभित्र थप विशेष बिक्री केन्द्र सञ्चालन गर्ने योजना रहेको खनालले जानकारी दिए।

बिक्री केन्द्रका सञ्चालक फेन्चु लामा रुम्बाका अनुसार हुप्रचौरस्थित केन्द्रमा करिब २० लाख र कान्तिराजपथस्थित केन्द्रमा करिब १० लाख रुपैयाँ लगानी गरिएको छ।

केन्द्रहरूमा दूध, दही, मोही, घ्यू, पनिर, चिज, लालमोहनलगायत करिब ३० प्रकारका दुग्धजन्य सामग्री उपलब्ध हुनेछन्। हेटौँडा आयोजनामा उत्पादित सामग्रीसँगै डीडीसीका अन्य आयोजनाबाट उत्पादित वस्तुसमेत बिक्री गरिनेछ।

सबै सामग्री डीडीसीले निर्धारण गरेकै आधिकारिक मूल्यमा उपलब्ध हुने र केन्द्रहरू बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने रुम्बाले बताए।

हेटौँडा आयोजनाले दूध, दही, घ्यू, पनिरका अतिरिक्त लालमोहन र पेडाजस्ता मिठाईसमेत उत्पादन गर्दै आएको छ। नयाँ बिक्री केन्द्रमार्फत स्थानीय उत्पादनसँगै संस्थानका अन्य आयोजनाका सामग्रीसमेत उपभोक्तासम्म पुर्‍याइनेछ।

नगरप्रमुख मीना कुमारी लामाले बिक्री केन्द्र सञ्चालनले स्थानीय उपभोक्तालाई दुग्धजन्य सामग्री सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार