हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामाले शिक्षण पेसा छाडेर व्यावसायिक कृषिलाई आफ्नो भविष्य बनाएका छन्। करिब एक दशकअघि बाख्रापालनबाट सुरु भएको उनको कृषि यात्रा अहिले ड्रागन फ्रुट, मेवा, फूलखेती र अन्य कृषि उद्यमसम्म विस्तार भएको छ।
गणित विषयमा स्नातक र योजना व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका लामा करिब १० वर्षअघि मनहरी गाउँपालिका–१, मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गर्थे। शिक्षण पेसामा आबद्ध रहँदा नै उनलाई कृषिमा केही नयाँ गर्ने सोच आएको थियो। अन्ततः उनले जागिरभन्दा कृषि उद्यमलाई प्राथमिकता दिए।
विसं २०७३ मा व्यावसायिक बाख्रापालन सुरु गरेका लामाले छ वर्षदेखि ड्रागन फ्रुट खेती गरिरहेका छन्। पदमपोखरीमा एमएनएस एग्रो प्रालि स्थापना गरी उनले करिब ३० कट्ठा जमिनमा व्यावसायिक खेती विस्तार गरेका हुन्।
ड्रागनबाट ३० लाख, मेवाबाट पाँच लाखको उत्पादन
लामाको फार्ममा हाल करिब १० हजार ड्रागन फ्रुटका बोट र ५०० मेवाका बोट छन्। ड्रागन फलबाट वार्षिक करिब ३० लाख रुपैयाँ बराबरको उत्पादन हुने गरेको छ। त्यस्तै मेवाबाट पाँच लाख र सयपत्री फूलबाट एक लाख रुपैयाँसम्मको उत्पादन हुने गरेको उनले जानकारी दिए।
यसरी ड्रागन, मेवा र सयपत्रीबाट मात्रै वार्षिक करिब ३६ लाख रुपैयाँ बराबरको कृषि उत्पादन हुने गरेको छ। यो उत्पादनको मूल्य हो, खर्च कटाएर हुने खुद नाफा भने होइन।
उनले मुख्य बालीसँगै अन्तरबालीका रूपमा मेवा, सयपत्री तथा अन्य कृषिउपज उत्पादन गर्दै आएका छन्। फार्ममा करिब १० मेट्रिकटन क्षमताको शीतभण्डार, पोलीहाउस, सिँचाइ संरचना, मिनीटिलर र ट्र्याक्टरसहित आधुनिक कृषि उपकरणको व्यवस्था गरिएको छ।
सुरुमा आफ्नै घरमा रहेका १५ वटा बाख्राबाट व्यावसायिक यात्रा अघि बढाएका उनले क्रमशः बाख्राको सङ्ख्या बढाएर १०० वटासम्म पुर्याएका थिए। बोयर जातका उन्नत बाख्रा, ड्रागन फलको बजार मूल्य र फूलखेतीको सम्भावनालाई ध्यान दिँदै व्यवसाय विविधीकरण गरेको उनले बताए।
बुबाको एग्रोभेटबाट जागेको कृषि मोह
फेन्चुको कृषिप्रतिको रुचि परिवारसँग पनि जोडिएको छ। उनका बुबा रत्नकुमार लामाले विसं २०५३ देखि पदमपोखरीमा एग्रोभेट सञ्चालन गर्दै आएका छन्। त्यहाँ आउने किसानले आफ्ना समस्या सुनाउने र समाधानका उपाय खोज्ने गरेको देख्दा आफूलाई पनि उत्पादनमूलक क्षेत्रमा लाग्न प्रेरणा मिलेको फेन्चु बताउँछन्।
कृषि सामग्री बिक्री गर्ने पसलमा किसानका समस्या सुन्दै जाँदा नेपाललाई आयातमा निर्भर हुनबाट जोगाउन उत्पादन बढाउनुपर्ने सोच विकास भएको उनको भनाइ छ।
व्यवसाय सञ्चालनमा बुबा रत्नकुमार, आमा सुमित्राकुमारी र श्रीमती सपनाको निरन्तर साथ रहेको उनले बताए। उनका बुबासँग कृषि तथा पशु स्वास्थ्यसम्बन्धी व्यावहारिक अनुभव छ भने श्रीमतीले पनि कृषिसम्बन्धी अध्ययन गरेकी छन्। स्वयं फेन्चुले स्नातकोत्तर अध्ययनपछि जेटिए अध्ययनसँगै कृषिसम्बन्धी विशेष तालिम लिएका छन्।
फार्ममा हाल परिवारका सदस्यसँगै चार जना स्थायी कामदार कार्यरत छन्। खेतीको मुख्य समयमा आवश्यकता अनुसार थप मजदुर परिचालन गर्ने गरिएको छ। उत्पादनसँगै उनले कृषि सामग्रीका लागि मिमा सप्लायर्स र पशु स्वास्थ्य सेवाका लागि मिमा भेट फार्मसमेत सञ्चालन गर्दै आएका छन्।
व्यावसायिक कृषिमा चुनौती र समाधान
लामाका अनुसार ड्रागन खेतीमा लगानी गरेलगत्तै पर्याप्त प्रतिफल प्राप्त हुँदैन। व्यावसायिक उत्पादनको राम्रो अवस्था बनाउन कम्तीमा पाँच वर्षसम्म धैर्य गर्नुपर्ने उनको अनुभव छ।
फल पाक्ने समयमा चराचुरुङ्गीबाट करिब १० प्रतिशतसम्म क्षति पुग्ने र ढुसीजन्य रोगसमेत देखा पर्ने गरेको उनले बताए। यी समस्या कम गर्न फार्ममा बर्ड नेट र फललाई छुट्टाछुट्टै सुरक्षित राख्ने ब्यागिङ प्रविधि अपनाइएको छ।
उत्पादनको गुणस्तर सुधार्न उनले करिब पाँच हजार पुराना ड्रागनका बोट हटाएर नयाँ बिरुवा लगाएका छन्। राम्रो उत्पादनका लागि गुणस्तरीय बिरुवा र उपयुक्त प्रविधि महत्त्वपूर्ण हुने उनको अनुभव छ।
किसानले समयमा मल नपाउने, गुणस्तरीय बीउको अभाव, कृषि बिमामा झन्झट र उत्पादनको स्थिर बजार नहुने जस्ता समस्याको सामना गर्नुपरेको उनले बताए।
राज्यले कृषिउपजको न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि बिमाको प्रक्रिया सरलीकरण र डिजिटल बजारमा किसानको पहुँच विस्तार गर्नुपर्ने उनको सुझाव छ।
स्थानीयदेखि राष्ट्रियस्तरसम्म सम्मान
व्यावसायिक कृषिमा गरेको योगदानका कारण लामाले विभिन्न सम्मान प्राप्त गरेका छन्। विसं २०७९ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरद्वारा सञ्चालित जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमबाट उनी जिल्लाको उत्कृष्ट कृषकका रूपमा पुरस्कृत भएका थिए।
हेटौँडा उपमहानगरपालिकाको ५५औँ नगर दिवसका अवसरमा उनलाई सिर्जनशील कृषक सम्मान–२०८० प्रदान गरिएको थियो। ड्रागन फ्रुट, मेवा, खरबुजा, एभोकाडो, सयपत्री, तरकारीखेती, नर्सरी तथा बाख्रापालनबाट स्थानीय रोजगारी सिर्जना गरेको भन्दै उपमहानगरपालिकाले उनलाई सम्मान गरेको हो।
त्यस्तै चालु वर्षको असार ११ देखि १३ गतेसम्म हेटौँडा–११, थानाभर्याङमा आयोजित ड्रागन फ्रुट महोत्सव–२०८३ मा एमएनएस एग्रो प्रालिले प्रविधि प्रदर्शन विधामा प्रथम पुरस्कार प्राप्त गरेको थियो।
१०४ किसानलाई समेटेर सामूहिक मेवाखेती
लामा आफ्नो फार्ममा मात्रै सीमित छैनन्। उनले सिकेको ज्ञान, सीप र अनुभव अन्य किसानसँग पनि बाँड्दै आएका छन्। उनको फार्म अवलोकन तथा व्यावसायिक खेती सिक्न विभिन्न स्थानबाट किसान आउने गरेका छन्।
उनकै अध्यक्षतामा आदामार क्षेत्रमा समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत सामूहिक मेवाखेती सञ्चालन भइरहेको छ। कृषि विकास कार्यालय चितवनमार्फत सञ्चालित कार्यक्रममा १०४ कृषक आबद्ध रहेको उनले बताए।
उनका अनुसार पदमपोखरी क्षेत्रमा हाल करिब ३० हजार मेवाका बोट छन्। सामूहिक खेतीले उत्पादन विस्तारसँगै किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न सहयोग पुगेको उनको भनाइ छ।
ड्रागनको जुस, क्यान्डी र वाइन उत्पादन गर्ने योजना
उत्पादनमा सफलता हासिल गरेसँगै लामाले अब कृषिउपजको प्रशोधनमा लगानी विस्तार गर्ने योजना बनाएका छन्। ड्रागन फलबाट जुस, क्यान्डी र वाइनलगायतका सामग्री उत्पादन गरी बजारमा पुर्याउने उनको सोच छ।
कृषि उत्पादनलाई पर्यटनसँग जोडेर फार्मलाई कृषि पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना पनि उनले देखेका छन्। उत्पादनसँगै प्रशोधन र बजारीकरणमा जोड दिन सके किसानले थप लाभ लिन सक्ने उनको विश्वास छ।
शिक्षण पेसा छाडेर कृषिमा लाग्दा सुरुमा आलोचना खेप्नुपरेको स्मरण गर्दै उनले निरन्तरको मेहनत र पारिवारिक सहयोगकै कारण अहिलेको अवस्थामा आइपुगेको बताए।
“मैले शिक्षण पेसा छोडेर कृषिमा लाग्दा सुरुसुरुमा धेरैले धेरै कुरा भने”, उनले भने, “बाहिरका व्यक्तिले के भन्छन् भन्दा पनि आफ्नो निरन्तरको लगाव र परिवारको साथ सहयोगले नै मलाई यो अवस्थामा पुर्याएको हो।”
युवाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न स्वदेशमै उत्पादनमूलक उद्यमलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
“यहीँ केही गर्न सकेमा इज्जतसँगै पैसा पनि कमाउन सकिन्छ”, उनले भने, “हाम्रो यहाँको भूगोलमा व्यावसायिक कृषिका धेरै सम्भावना छन्, तर यसप्रतिको लगाव तथा समर्पण अपरिहार्य छ।”
शिक्षण पेसाबाट कृषिमा प्रवेश गरेका लामाको यात्राले परम्परागत खेतीलाई प्रविधि, व्यावसायिक योजना र बजारसँग जोड्न सके स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।



