देशबागमती प्रदेशत्रिभुवन राजपथमा आलोपालो प्रणाली, साना सवारीलाई सिस्नेरी

त्रिभुवन राजपथमा आलोपालो प्रणाली, साना सवारीलाई सिस्नेरी

हेटौँडा । मुग्लिङ–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समयतालिका लागू गरेको छ। हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने सवारीसाधनलाई आलोपालो सञ्चालन गरिने भए पनि साना सवारीसाधनका लागि सिस्नेरी मार्ग र कान्ति लोकपथ वैकल्पिक बाटोका रूपमा रहेका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चाप व्यवस्थापन गर्न त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको हो।

प्रशासनले सार्वजनिक गरेको समयतालिकाअनुसार असोज २४ गते हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बिहान २ बजेदेखि ५ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै, असोज २५ गते बिहान ४ बजेदेखि १० बजेसम्म सवारी सञ्चालन गर्न अनुमति दिइएको छ।

काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई असोज २३ गते साँझ ६ः३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्न दिइनेछ।

असोज २४ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ। असोज २५ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ सवारी सञ्चालन गर्न सकिने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार हेटौँडाबाट सिस्नेरी हुँदै काठमाडौँ जाने सडकमा साना सवारीसाधनका लागि आलोपालो प्रणाली लागू गरिएको छैन।

उक्त मार्गमा सडकको अवस्था अनुकूल रहेसम्म साना सवारीसाधन सञ्चालन गर्न सकिने उनले बताए। त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू भए पनि साना सवारीका लागि सिस्नेरी मार्ग अर्को विकल्पका रूपमा रहेको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दुवैतर्फ सवारीसाधन सञ्चालन भइरहेका छन्। साँझ करिब ६ देखि ७ बजेपछि भने सवारी आवागमन बन्द हुने व्यवस्था रहेको छ।

मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएको अवस्थामा यात्रुले कान्ति लोकपथलाई पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्ने अधिकारीले जानकारी दिए।

प्रशासनले त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले तत्काल व्यवस्थापन गर्नुपरेको बताए।

जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका पालना गर्न र यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझ्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img