फिचरबाढी–पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, कहाँको सडक कस्तो अवस्थामा छ ?

बाढी–पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, कहाँको सडक कस्तो अवस्थामा छ ?

spot_img

हेटौँडा। अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन्।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

धादिङकै गजुरी–२ स्थित परेवाभिरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्। झ्यादुखोला तथा कमेरेभिर क्षेत्रमा पनि सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडकखण्ड पनि एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ।

बाढीबाट बढी प्रभावित रसुवाका मुख्य सडक अझै सञ्चालनमा आउन सकेका छैनन्। उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

जिल्लाका अन्य मुख्य राजमार्ग तथा सडकखण्डसमेत बाढी र पहिरोका कारण प्रभावित रहेको प्रहरीको विवरणमा उल्लेख छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१० सिमटार क्षेत्रमा बाढीका कारण पासाङल्हामु सडकखण्ड अवरुद्ध छ। टोखा–छहरे सडकखण्डमा भने जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढी तथा पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा समय सीमा तोकिएको छ।

सडकको अवस्था र जोखिम मूल्याङ्कन गरी निश्चित समयमा मात्रै सवारीसाधन सञ्चालन गर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। मालवाहक सवारीको हकमा समेत तौल र सडकको अवस्थाका आधारमा आवागमन व्यवस्थापन गरिएको छ।

लुम्बिनी प्रदेशको रोल्पास्थित सहिदमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। घोराही–थवाङ सडकखण्ड पनि पहिरोबाट प्रभावित भएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित बालसिद्ध मन्दिर नजिक पहिरो खस्दा सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो गएपछि मुगु–गमगढी सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

बाढी र पहिरोका कारण सडकको अवस्था छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img