हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादास्पद अडियो प्रकरणमा नाम र तस्बिर सार्वजनिक भएकी एक महिलाले उक्त अडियोमा सुनिएको महिला पात्र आफू नभएको दाबी गरेकी छन्। उनले आफूलाई अनावश्यक रूपमा विवादमा तानेर सामाजिक तथा राजनीतिक रूपमा बदनाम गर्न खोजिएको आरोप लगाएकी छन्।
‘सिधा कुरा जनतासँग’ कार्यक्रममा दिएको अन्तर्वार्तामा ती महिलाले सार्वजनिक भएका अडियोमा आफ्नो आवाज नभएको र त्यस विषयमा आफूलाई कुनै जानकारीसमेत नरहेको बताएकी हुन्। उनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आफ्नो नाम र तस्बिर जोडेर समाचार प्रकाशन तथा प्रसारण गरिएकोप्रति आपत्ति जनाइन्।
‘त्यो मान्छे म होइन, त्यो आवाज पनि मेरो होइन। मलाई यो विषयमा केही थाहा छैन। सामाजिक सञ्जाल हेरेर भर्खरै थाहा पाइरहेकी छु,’ उनले भनिन्, ‘मेरो नाम र फोटो जोडेर किन चरित्र हत्या गर्न खोजिँदै छ, मैले बुझ्न सकेकी छैन।’
सार्वजनिक अडियोमा महिलालाई धम्की दिएको, अश्लील शब्द प्रयोग गरेको तथा लामो समयदेखि मानसिक यातना र ब्ल्याकमेलिङ गरेको भनिएका संवादहरू सुनिन्छन्। तर, ती संवादको प्रामाणिकता र त्यसमा संलग्न व्यक्तिहरूको पहिचान स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
अन्तर्वार्ताका क्रममा ती महिलाले आफू वास्तवमै पीडित भएको भए न्यायका लागि सम्बन्धित निकायमा जाने बताइन्। उनले आफूलाई प्रहरी, प्रशासन र अदालत जाने प्रक्रिया थाहा भएको भन्दै कुनै पीडा वा अन्याय सहेर बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पारिन्।
‘यदि म पीडित थिएँ भने म आफैँ न्याय माग्न जान्थेँ होला नि। मलाई न्यायालय थाहा छ, अड्डाअदालत थाहा छ। म किन न्याय माग्न जाँदिनथेँ?’ उनले प्रश्न गरिन्।
सांसद सुनारसँगको चिनजानबारे सोधिएको प्रश्नमा उनले आफूहरू विगतमा एउटै राजनीतिक संगठनमा रहेर काम गरेको बताइन्। सुनार र आफू नेपाल तरुण दलमा आबद्ध रहँदादेखि नै परिचित रहेको उनको भनाइ छ।
‘उहाँ तरुण दलमा हुनुहुन्थ्यो, म पनि तरुण दलमा थिएँ। एउटै संगठनमा बसेर काम गरेको मान्छेलाई चिन्नु ठूलो कुरा होइन,’ उनले भनिन्, ‘चिनजान भएकै आधारमा कसैसँग नाम, फोटो र आवाज जोडेर बदनाम गर्न मिल्दैन।’
अन्तर्वार्तामा आफूलाई डर, धम्की वा कुनै दबाब नआएको पनि उनले बताइन्। सार्वजनिक विवादका कारण आफ्नो धारणा परिवर्तन गरेको वा कसैको दबाबमा अडियो अस्वीकार गरेको भन्ने आशंकालाई समेत उनले खण्डन गरिन्।
‘म आनन्दले आफ्नो काम गरिरहेकी छु। पार्टीका कार्यक्रममा सहभागी भइरहेकी छु। घरपरिवार र आफ्नै काममा व्यस्त छु। मलाई कसैबाट डर, धम्की वा दबाब केही छैन,’ उनले भनिन्।
अडियो सार्वजनिक गर्ने सञ्चारमाध्यमले सम्बन्धित महिलाले नै श्रव्य सामग्री उपलब्ध गराएको दाबी गरेको प्रसंगमा उनले त्यसको प्रमाण देखाउन चुनौती दिइन्।
‘यदि मैले नै अडियो दिएको हो भने कुन दिन, कुन माध्यमबाट, कुन आईडी वा नम्बरबाट उपलब्ध गराएँ, त्यो पनि देखाउनुपर्यो नि,’ उनले भनिन्।
उनले सामाजिक रूपमा सक्रिय महिलाहरूलाई विभिन्न व्यक्तिसँग जोडेर चरित्रमाथि प्रश्न उठाउने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। विशेषगरी दलित तथा विपन्न समुदायबाट सामाजिक र राजनीतिक क्षेत्रमा अघि बढिरहेका महिलालाई यस्ता गतिविधिले थप कठिनाइ सिर्जना गर्ने उनको भनाइ थियो।
‘आज एकजनासँग नाम जोड्ने, भोलि अर्कोसँग जोड्ने। सामाजिक रूपमा काम गर्दै हिँड्ने महिलाले कसैसँग बोल्नै नहुने, हिँड्नै नहुने हो र?’ उनले प्रश्न गरिन्।
आफ्नो नाम र तस्बिर प्रयोग गरी चरित्र हत्या गर्ने कार्य जारी रहे कानुनी उपचार खोज्ने चेतावनीसमेत उनले दिइन्। आवश्यक परे प्रहरी, प्रशासन, प्रेस काउन्सिल तथा अदालतसम्म पुग्ने उनको भनाइ छ।
उनले सांसद सुनारमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने तर छानबिनको निष्कर्ष नआउँदै कसैलाई दोषी करार गर्न नहुने धारणा राखिन्। सुनारलाई पनि आफ्नो पक्ष राख्ने र छानबिनमा सहभागी हुने अवसर दिनुपर्ने उनले बताइन्।
यसैबीच, सांसद सुनारले पनि सार्वजनिक अडियो आफूविरुद्ध गरिएको झुटो प्रचार भएको दाबी गरेका छन्। उनले एआईलगायत प्रविधि प्रयोग गरेर अडियो तयार पारिएको आरोप लगाउँदै आफूमाथि लागेका आरोपको छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्।
रास्वपाले भने सुनारसँग जोडिएका अडियो तथा आरोपलाई गम्भीर रूपमा लिँदै केन्द्रीय अनुशासन आयोगमार्फत आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले छानबिन पूरा नभएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशनसमेत दिएको छ। आयोगले प्रमाण संकलन र तथ्य परीक्षणको प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार मंगलबारसम्म उक्त अडियो प्रकरणमा औपचारिक उजुरी परेको छैन। अडियोमा सुनिएका आवाज कसका हुन्, श्रव्य सामग्री वास्तविक हो वा प्रविधिको प्रयोगबाट तयार गरिएको हो तथा सार्वजनिक आरोपमा कति सत्यता छ भन्ने विषय आधिकारिक परीक्षणबाट पुष्टि हुन बाँकी छ।


