हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वका समयमा शान्तिसुरक्षा कायम राख्न, सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न र यात्रुहरूको आवागमन सहज बनाउन जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट स्थापना गर्ने व्यवस्थासहित सुरक्षा जनशक्ति परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार चाडपर्वका समयमा बजारमा बढ्ने भिडभाड, आर्थिक कारोबार, राजमार्गमा सवारीसाधनको चाप तथा विभिन्न धार्मिक र पर्यटकीयस्थलमा हुने चहलपहललाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको हो।
बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै राजमार्गमा प्रहरी निगरानी र सवारी जाँचलाई प्राथमिकता दिइएको छ।
रातमाटे, भैँसे, मनहरीलगायत प्रमुख प्रवेश तथा निकासस्थल र सिन्धुली तथा काठमाडौँ जोड्ने सडकखण्डमा सुरक्षा जाँचको व्यवस्था मिलाइएको छ। नियमित चेकपोस्टसँगै आकस्मिक जाँच तथा ट्राफिक प्रहरीसँगको संयुक्त जाँचसमेत सञ्चालन गरिनेछ।
सवारी नियम उल्लङ्घन गर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउने चालकलाई कानुनबमोजिम कारबाही गरिने प्रवक्ता काफ्लेले बताए।
यात्रुहरूको सुविधाका लागि जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षबाट बढी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण, यातायात व्यवस्थापन तथा यात्राका क्रममा समस्या भोग्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराइनेछ।
सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा १० वटा मोबाइल गस्ती टोली खटाइएको छ। तत्काल प्रहरी सहायता आवश्यक पर्ने क्षेत्रमा छिटो पुग्न मोटरसाइकलसहितका द्रुत प्रतिकार्य टोली (क्युआरटी), पिकेट टोली र पैदल गस्तीको समेत व्यवस्था गरिएको छ।
कुनै स्थानमा आकस्मिक घटना हुँदा परिचालित जनशक्ति अपुग भएमा थप प्रहरी परिचालन गर्न दुईवटा रिजर्भ टोली तयारी अवस्थामा राखिएको छ। सडक अवरोध तथा अन्य आकस्मिक परिस्थितिको व्यवस्थापनका लागि स्ट्राइकिङ टोलीसमेत परिचालन गरिनेछ।
सवारी दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आपत्कालीन घटनामा तत्काल उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
चाडपर्वका समयमा बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार बढ्ने भएकाले सम्भावित चोरी तथा लुटपाटका घटना रोक्न विशेष निगरानीको व्यवस्था गरिएको छ।
त्यस्तै, बजार क्षेत्रमा हुने चोरी, लुटपाट, जुवातास तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।
चाडपर्वको मौका छोपेर हुनसक्ने कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमन गरिने प्रहरीले जनाएको छ।
धार्मिक तथा पर्यटकीयस्थल, सरकारी कार्यालय र बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका विशिष्ट व्यक्तिहरूको सुरक्षामा समेत आवश्यक प्रहरी जनशक्ति परिचालन गरिएको छ।
इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत नियमित गस्ती र निगरानीको व्यवस्था मिलाइएको छ। चाडपर्वका समयमा शान्तिसुरक्षा कायम राख्दै नागरिकको यात्रा सुरक्षित र सहज बनाउने उद्देश्यले विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


