अन्तर्राष्ट्रियभारतको राजधानी दिल्लीमा युवा आन्दोलन, चार सयभन्दा बढी प्रदर्शनकारी हिरासतमा

भारतको राजधानी दिल्लीमा युवा आन्दोलन, चार सयभन्दा बढी प्रदर्शनकारी हिरासतमा

नयाँदिल्ली  । भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन आयोगको नेतृत्वविरुद्ध युवाहरूले आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै चार सयभन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। शनिबार ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा जन्तरमन्तर क्षेत्रमा प्रदर्शन गर्न पुगेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रदर्शनका लागि पूर्वअनुमति नदिइए पनि युवाहरू जन्तरमन्तर पुग्ने प्रयास गरिरहेका थिए। प्रहरीले प्रदर्शनस्थल र आसपासका क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाउँदै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनमा वामपन्थी तथा किसान संगठनका नेताहरू पनि सहभागी हुन थालेका छन्।

यसअघि प्रहरीले आन्दोलनको नेतृत्व गरिरहेका सीजेपीका संस्थापक अभिजीत दीपकेसहित सौरभ दास र आशुतोष रांकालाई दिल्ली विमानस्थलबाट हिरासतमा लिएको थियो। उनीहरू मुम्बईबाट दिल्ली पुगेका थिए। नेताहरूलाई नियन्त्रणमा लिएर शान्तिपूर्ण प्रदर्शन रोक्न खोजिएको भन्दै सीजेपीले विरोध जनाएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रदर्शनकारीले भारतीय प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। मतदाता नामावली पुनरीक्षण प्रक्रियामा अनियमितता भएको र त्यसबाट सत्तारूढ भारतीय जनता पार्टीलाई राजनीतिक लाभ पुग्ने उनीहरूको आरोप छ।

प्रदर्शनकारीले निर्वाचन प्रक्रियाको निष्पक्षता र लोकतान्त्रिक अधिकारको संरक्षणको माग गरेका छन्। यद्यपि, भारतीय निर्वाचन आयोगले मतदाता नामावली पुनरीक्षणलाई दोहोरो नाम हटाउने तथा अयोग्य मतदाताको विवरण सच्याउने नियमित प्रक्रियाका रूपमा व्याख्या गरेको छ। सत्तारूढ भारतीय जनता पार्टीले पनि आन्दोलनकारी पक्षले लगाएका आरोप अस्वीकार गरेको छ।

आन्दोलनलाई लक्षित गर्दै दिल्लीका विभिन्न क्षेत्रमा सडक आवागमनमा रोक लगाइएको छ। प्रहरीले मुख्य सडक, सार्वजनिक चोक तथा प्रवेश नाकामा सुरक्षा जाँच बढाएको छ। राजधानीका ४५ वटा मेट्रो स्टेसन बन्द गरिनुका साथै मध्यदिल्लीका केही क्षेत्रमा मोबाइल इन्टरनेट सेवासमेत अवरुद्ध गरिएको रोयटर्सले जनाएको छ।

प्रदर्शन रोक्ने प्रहरी कदमप्रति आन्दोलनकारीले असन्तुष्टि जनाएका छन्। उनीहरूले शान्तिपूर्ण रूपमा विरोध गर्न पाउने लोकतान्त्रिक अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन्। प्रहरीले भने अनुमति नलिई आयोजना गरिएको प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ।

दिल्लीमा पछिल्ला दिनहरूमा मतदाता नामावली पुनरीक्षणको विवादलाई लिएर युवा समूहहरू सक्रिय भएका छन्। शनिबारको प्रदर्शनले भारतको निर्वाचन प्रणालीको निष्पक्षता र नागरिकको विरोध प्रदर्शन गर्ने अधिकारसम्बन्धी बहसलाई थप तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार