बागमती प्रदेशमकवानपुरमुग्लिङ सडक अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी मार्गमा सवारीको चाप

मुग्लिङ सडक अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी मार्गमा सवारीको चाप

यात्रुवाहक बसलाई पहिलो प्राथमिकता

हेटाैँडा । धादिङको गल्छी क्षेत्रमा पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा-कुलेखानी-बल्खु सडक खण्डमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। दसैँको समयमा यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर आवतजावतको व्यवस्था मिलाएको छ।

​जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाडीलाई प्राथमिकता दिइएको छ। सडक साँघुरो र घुम्तीहरू अप्ठ्यारा भएकाले त्रिभुवन राजपथलगायत वैकल्पिक मार्गमा आलोपालो प्रणाली (वान-वे) मार्फत सवारी साधन सञ्चालन भइरहेका छन्।

​सवारी व्यवस्थापनका क्रममा केही गाडीलाई १ देखि २ घण्टासम्म रोकेर छाड्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले जानकारी दिए।

​जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णयअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक गाडीलाई मात्र चल्न दिइएको छ। १० चक्काभन्दा बढी भएका र १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारी साधनलाई भने यो सडक प्रयोगमा रोक लगाइएको छ।

​यसैगरी, साना यात्रुवाहक सवारी साधन (टाटा सुमो तथा विद्युतीय गाडी) का लागि भीमफेदी सडक खण्डबाट दोहोरो आवतजावतको व्यवस्था मिलाइएको छ। हेटौँडाको चौकीटोलमा साना गाडीको पार्किङ र यात्रु चढाउने स्थान तोकिएको छ। जोखिमयुक्त मानिएका देउराली र जुरिखेतलगायतका स्थानमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ।

​बडादसैँका अवसरमा यात्रुको ठगी नियन्त्रण र सहजीकरणका लागि हेटौँडा बसपार्क र चौकीटोलमा ‘यात्रु सहायता कक्ष’ समेत सञ्चालनमा ल्याइएको छ। तोकिएको भन्दा बढी भाडा असुलेमा वा यात्रामा समस्या परेमा सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार