काठमाडाैँ । काठमाडौँ उपत्यकामा दशैँलाई लक्षित गरी सुरु गरिएको जुनसुकै ब्रान्डको एलपी ग्यास सिलिन्डर साट्न पाइने संयुक्त बिक्री वितरण व्यवस्था भोलि (बुधबार) देखि बन्द हुने भएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले बुधबारसम्म मात्रै जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर ग्यास खरिद गर्न सकिने जनाएको छ। सङ्घका अनुसार बिहीबारदेखि भने उपभोक्ताले साबिककै व्यवस्थाअनुसार आफूले प्रयोग गर्दै आएको ब्रान्डको नजिकैको डिलरमार्फत ग्यास खरिद गर्नुपर्नेछ।
दैशैँका बेला ग्यास खरिदमा सहजता ल्याउने भन्दै उद्योगीहरूले अस्तिदेखि उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने व्यवस्था गरेका थिए ।
यसअघि आगामी असोज ३१ गतेसम्म संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्ने तालिका सार्वजनिक गरिए पनि उद्योगीहरूले पछि एक दिन घटाएर असोज ३० गतेसम्म मात्र कायम गर्ने निर्णय गरेका थिए। सोही समयसीमाअनुसार बुधबार अन्तिम दिन रहने सङ्घले जनाएको छ।
चाडपर्वको समयमा खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तु खरिद गर्न उपभोक्ताले अझै पनि सास्ती खेप्नुपरिरहेको छ।


