काठमाडाैँ। दशैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाडेर घर फर्किने यात्रुको संख्या झण्डै दुई लाख पुगेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म २७ हजार ७ सय वटा सवारीसाधनमार्फत १ लाख ८८ हजार जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। सोही अवधिमा २४ हजार ६ सय वटा गाडीबाट १ लाख ६० हजार यात्रु उपत्यका भित्रिएका छन्।
अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा उपत्यकामा बस्दै आएका नागरिकहरू जन्मथलो फर्किन थालेपछि प्रमुख नाकाहरूमा चहलपहल र यात्रुको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रबिन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार नागढुङ्गा, थानकोट, फर्पिङ, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट बाहिरिने यात्रुको संख्या दैनिक रूपमा बढ्दै गएको छ।


