काठमाडौँ। देशका केही प्रदेशहरूमा आज (शुक्रबार) चट्याङ्ग र असिनासहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी प्रदेशको तराईका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।
त्यस्तै, देशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ। मधेश प्रदेशलगायत कोशी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली रहनेछ।
गएराति गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान र पश्चिमी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा भएको थियो। हाल गण्डकी प्रदेशका एकाध स्थानमा बाहेक देशभरको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार वर्षा गराउने यो प्रणाली आजसम्म कायमै रहनेछ। भोलि शनिबारदेखि भने देशभरको मौसममा क्रमशः सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



