देशआज तीन प्रदेशमा भारी वर्षा, अपराह्नदेखि चक्रवातको प्रभाव कमजोर हुने

आज तीन प्रदेशमा भारी वर्षा, अपराह्नदेखि चक्रवातको प्रभाव कमजोर हुने

काठमाडौँ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेष र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज शनिबार पनि देशका अधिकांश प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको आगामी २४ घण्टाको पूर्वानुमानअनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कोशी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान र मधेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुने सम्भावना छ। कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार ‘अर्नब’ चक्रवातको अवशेष हाल न्यून चापीय क्षेत्रका रूपमा पश्चिम नेपालनजिक रहेको छ। यसको प्रभाव शनिबार अपराह्नसम्म नेपालमा रहने र त्यसपछि क्रमशः कमजोर हुँदै मौसम सुधार हुने सम्भावना छ। यद्यपि, माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव भने कायमै छ।

शनिबार रातिदेखि वर्षाको गतिविधि घट्ने पूर्वानुमान गरिएको छ। राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बादल रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पछिल्ला तीन दिनदेखि देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक यातायात प्रभावित हुने जोखिम रहेको छ। विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

मौसम तथा बाढीसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको निःशुल्क फोन नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार