बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने, जमिन भासिने र नदीले सडक नै बगाउने समस्या देखिएपछि पुनर्निर्माणका लागि करिब सात करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला सदरमुकाम बेनीलाई मङ्गला, मालिका र धौलागिरि गाउँपालिकासँग जोड्ने यो सडक गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि क्षतिग्रस्त बनेको हो। सडकका करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
कार्यालयका इन्जिनियर मोहन रुवालीका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म मात्रै १५ स्थानमा साना तथा ठूला पहिरोले सडक संरचना भत्काएको छ। दुई स्थानमा नदी कटानले सडक बगाएको छ भने विभिन्न ठाउँमा ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्रसमेत नष्ट भएका छन्। यस खण्डमा मात्रै तीनदेखि चार करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
सबैभन्दा बढी क्षति मालिका गाउँपालिका–६ स्थित बलौटेमा पुगेको छ। त्यहाँ म्याग्दी नदीले करिब एक सय मिटर कालोपत्र सडक बगाएको छ। सडकको डिलदेखि भित्तातर्फको भागसम्मै कटान भएकाले सामान्य मर्मतबाट यातायात सञ्चालन गर्न सकिने अवस्था छैन।
पानाबगरदेखि दरवाङसम्मका चार स्थानमा पहिरोले सडक क्षतिग्रस्त बनाएको छ। दरवाङदेखि मुनासम्मको खण्डमा पर्ने धारापानीमा करिब १५० मिटर ढलान सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचना भत्काएको छ।
सडकको मुख्य खण्ड अवरुद्ध भएपछि स्थानीयवासीले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ। अहिले मङ्गला र मालिका गाउँपालिकाको सिमानामा पर्ने दुखुखोला पुलबाट दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने सडक प्रयोग गरी दरवाङ र मुनासम्म यातायात सञ्चालन गरिएको छ। तर वैकल्पिक सडक साँघुरो, कच्ची र उपयुक्त उकालो–ओरालो नमिलेको हुँदा ठूला सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार बलौटेमा नदी कटानले सडकको पूरै संरचना भत्काएकाले तत्काल पुरानै मार्गबाट यातायात सञ्चालन गर्न कठिन छ। क्षतिग्रस्त स्थानमा पैदल आवतजावत गर्नसमेत जोखिम रहेको भन्दै उनले नदी किनारमा पक्की टेवा पर्खाल निर्माण गरेर मात्रै सडक पुनर्निर्माण गर्न सकिने बताए।
कार्यालयले बेनी–पानाबगर खण्डको पुनर्निर्माणका लागि चार करोड ६२ लाख ५६ हजार २० रुपैयाँ र पानाबगर–दरवाङ खण्डअन्तर्गत बलौटेको क्षतिग्रस्त सडक बनाउन दुई करोड २७ लाख ४३ हजार ५९९ रुपैयाँ लागत अनुमान तयार गरेको छ। दुवै खण्डको अनुमानित लागत जोड्दा छ करोड ८९ लाख ९९ हजार ६१९ रुपैयाँ पुग्छ।
यद्यपि पुनर्निर्माणका लागि आवश्यक रकमको तुलनामा हालसम्म सुनिश्चित भएको बजेट न्यून छ। बलौटे खण्डको काम अघि बढाउन गण्डकी प्रदेश सरकारले २५ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख उलकका अनुसार दसैँलगत्तै पुनर्निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ।
म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले सडक पुनर्निर्माण गर्दा आसपासका बस्ती सुरक्षित हुने गरी योजना बनाउनुपर्ने बताएका छन्। आगामी वर्षायाम सुरु हुनुअघि नै नदी नियन्त्रणका संरचना निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले आवश्यक बजेट व्यवस्थापन गरेर एक वर्षभित्र क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न पहल भइरहेको जानकारी दिए।
हाल पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म तथा त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी यातायात सञ्चालन गरिएको छ। फापरखेत क्षेत्रमा पहिरोका कारण समस्या भएपछि पखेर–बरङ्जाङ–सातबिसे–बाबियाचौर वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ।
बेनीदेखि दरवाङसम्मको सडक २४ किलोमिटर लामो छ। त्यसमध्ये १६ किलोमिटर ४०० मिटर कालोपत्र गरिएको छ। दरवाङदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको १८ किलोमिटर सडकमा पनि निर्माण कार्य जारी छ। यस खण्डको धारापानी–झिनडाँडास्थित छ किलोमिटरबाहेक अन्य भाग निर्माणाधीन अवस्थामा छन्।
बेनी–दरवाङ–मुना सडक पश्चिम म्याग्दीका बासिन्दाको दैनिक आवागमनसँग मात्रै जोडिएको छैन, यसले गण्डकी प्रदेशलाई पूर्वी रुकुमसम्म जोड्ने वैकल्पिक मार्गको सम्भावनासमेत बोकेको छ। बेनीबाट दरवाङ, मुना, जलजला र ढोरपाटन हुँदै पूर्वी रुकुम पुग्ने यो मार्गलाई मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पका रूपमा समेत हेरिएको छ।
गत पुसमा धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग खोलिएको थियो। यस्तो अवस्थामा बाढीपहिरोबाट क्षतिग्रस्त मुख्य सडकको पुनर्निर्माणमा भएको ढिलाइले स्थानीय यातायातसँगै अन्तरजिल्ला सडक सञ्जाल विस्तारको सम्भावनालाई पनि प्रभावित बनाएको छ।


