काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी देखिएको छ। शनिबार अपराह्नदेखि भने चक्रवातको प्रभाव कमजोर हुँदै वर्षाको गतिविधि क्रमशः घट्ने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाको शुक्रबार जारी विवरणअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षाको प्रभाव देखिएको छ। देशका अधिकांश स्थानमा बदली रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको छ।
महाशाखाका अनुसार शुक्रबार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। केही स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद् डेभिड ढकालका अनुसार भारतमा शक्तिशाली रहेको चक्रवात नेपालसम्म आइपुग्दा कमजोर बनेको छ। यद्यपि, यसको अवशेष र पश्चिमी वायुको संयुक्त प्रभावले वर्षा तथा हिमपात गराइरहेको छ। शनिबार कात्तिक १४ गते अपराह्नदेखि मौसममा क्रमिक सुधार आउने भए पनि सबै स्थानमा एकैपटक वर्षा रोकिने अवस्था नरहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। ती प्रदेशका केही स्थानमा भारी वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ।
शनिबार रातिदेखि वर्षाको गतिविधि घट्ने र आइतबार कात्तिक १५ गते देशका अधिकांश स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यद्यपि, पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।
विभागको शुक्रबारको विवरणअनुसार पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा ५० दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको थियो। विभागको अनलाइन वर्षा मापन विवरणमा भने लेगुवाघाट केन्द्रमा पछिल्लो २४ घण्टाको अधिकतम वर्षा ५७ दशमलव ४ मिलिमिटर देखिएको छ।
निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, सडक अवरोध तथा नदी र खोलामा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको छ। विशेषगरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी सडकमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिमलाई ध्यान दिँदै अनावश्यक यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।
मौसम प्रतिकूल रहँदा धानबाली भित्र्याउने तथा खुला स्थानमा गरिने कृषि कार्यमा समेत सावधानी अपनाउन विभागले सुझाव दिएको छ। मौसम तथा बाढीसम्बन्धी थप जानकारीका लागि विभागको निःशुल्क फोन नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।


