हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढेको छ। शनिबार बिहान जलाशयको सतह १ हजार ५२७ दशमलव ९३ मिटर पुगेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण जलाशयमा पानीको सतह बढिरहेको हो। जलाशयको अधिकतम जलसतह सीमा १ हजार ५३० मिटर रहेको छ। हालको जलसतह उक्त सीमाभन्दा २ दशमलव ०७ मिटर तल छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले केही घण्टामै जलाशयको सतह १ हजार ५२८ मिटर नाघ्न सक्ने भन्दै सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेका छन्। उनले बाँधको तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपास बसोबास गर्ने नागरिकलाई खोला किनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा रहन तथा आयोजनाबाट जारी हुने सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन्।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पहिलो चरणको चेतावनी जारी गरेको छ। जलाधार क्षेत्रमा निरन्तर भारी वर्षाका कारण जलसतहको वृद्धिदर उच्च हुँदै गएकाले बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने आयोजनाले जनाएको छ।
केन्द्रका प्रमुख राउतका अनुसार पानीको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने भए थप सूचना जारी गरी चेतावनीको साइरन बजाइनेछ। हालसम्म ढोका खोल्ने निर्णय भएको जानकारी सार्वजनिक गरिएको छैन।
आयोजनाले देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई समेत सावधानी अपनाउन आग्रह गरेको छ। बिहीबार साँझदेखि मकवानपुरका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले जलाशयको सतह थप बढ्न सक्ने देखिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई आधिकारिक सूचना र चेतावनीको पालना गर्न तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान सक्ने गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ।


