काठमाडाैँ । पत्रकार पक्राउ र प्रहरी धरपकडको विरोधमा नेपाल पत्रकार महासंघले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दाबाद’, ‘प्रेसमाथिको दमन बन्द गर’, ‘पत्रकारमाथिको धरपकड बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
विरोध कार्यक्रममा बोल्दै हिजो पक्राउ परेर छुटेका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षभित्रै छिरेर पत्रकारलाई पक्राउ गर्नु दुःखद् र आपत्तिजनक भएको बताए। कार्यक्रमका अर्का वक्ता पत्रकार रामप्रसाद दाहालले राज्यले प्रेस स्वतन्त्रताको ग्यारेन्टी र रक्षा गर्नुपर्नेमा जोड दिए।


