मकवानपुरइन्द्रसरोवर गाउँपालिकाकुलेखानी जलाशयको सतह बढ्दै, बाँधका ढोका खोल्नुपर्ने सम्भावना

कुलेखानी जलाशयको सतह बढ्दै, बाँधका ढोका खोल्नुपर्ने सम्भावना

हेटौँडा । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह बढ्दै गएपछि बाँधका मुख्य ढोका खोल्नुपर्ने सम्भावना देखिएको छ। शनिबार दिउँसो १ बजे जलाशयको सतह १ हजार ५२८ दशमलव २७ मिटर पुगेको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाशयको अधिकतम जलसतह सीमा १ हजार ५३० मिटर रहेको छ। जलसतह १ हजार ५२८ दशमलव ५० मिटर पुगेपछि पहिलो सुरक्षा साइरन बजाइनेछ। आयोजनाले जारी गरेको सूचनामा शनिबार साँझ ६ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

आयोजनाका अनुसार जलाधार क्षेत्रमा थप भारी वर्षा भए जलाशयको सुरक्षा र जलसतह सन्तुलन कायम राख्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्था आए पूर्वसूचना जारी गरी साइरन बजाइने तथा एसएमएसमार्फत जानकारी गराइनेछ।

बाँधका ढोका खोलिए सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ। यसलाई ध्यानमा राख्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले नदीकिनार आसपासका बासिन्दालाई अग्लो र सुरक्षित स्थानमा बस्न तथा आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन्।

सम्भावित जोखिम व्यवस्थापनका लागि आयोजनाले प्राविधिक टोली तयारी अवस्थामा राखेको जनाएको छ। सर्वसाधारणलाई नआत्तिन र चेतावनीको साइरन तथा एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरिएको छ। हालसम्म बाँधका ढोका खोलिएको पुष्टि भएको छैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार