मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ ले नयाँ पदाधिकारी घोषणा गर्दै क्षेत्रीय कार्यसमितिको संरचना पूर्णता दिएको छ। जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले उमेश थापाको नेतृत्वमा कार्यसमितिको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँड गरेको हो। बैठकमा संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम, जनसंपर्क विस्तार र नीति–रणनीतिबारे विस्तृत छलफल भएको पार्टीले जनाएको छ।
निर्णयअनुसार क्षेत्र नम्बर १ को अध्यक्षमा उमेश थापा, वरिष्ठ उपाध्यक्षमा मुरारी पौडेल, उपाध्यक्षमा भीमाकुमारी स्याङ्बो, सचिवमा संगीन श्रेष्ठ, कोषाध्यक्षमा विकास दुलाल र सह–सचिवमा मनोज मोक्तान चयन भएका छन्। नयाँ टिमले जिल्लाभर संगठन वृद्धिलाई प्राथमिकतामा राख्ने बताइएको छ।
पदाधिकारी घोषणा कार्यक्रममा अध्यक्ष थापाले देशको राजनीतिक दिशाप्रति कडा असन्तुष्टि व्यक्त गरे। उनका अनुसार संविधान लागू भएको दशक बितिसक्दासमेत जनताले स्थिरता, सुशासन र आर्थिक उन्नतिको अपेक्षित अनुभूति गर्न सकेका छैनन्। उनले अहिलेको गणतान्त्रिक संरचनाले राष्ट्रको दिगो हित सुनिश्चित गर्न नसकेको दाबी गर्दै वैकल्पिक राजनीतिक मार्गप्रति जनताको मोह बढ्दै गएको बताए।
थापाले भने, “हिन्दू राज्य र राजसंस्था पुनःस्थापना नगरी देशलाई स्थिर र सक्षम बनाउने अर्को उपाय देखिँदैन। अहिलेको गणतन्त्र र २०७२ को संविधानले काम गरिरहेको छैन। नेपालले फेरि राजसंस्था र हिन्दू राज्यसहित नयाँ युगमा प्रवेश गर्नुपर्ने समय आएको छ।”
कार्यक्रममा अन्य वक्ताहरूले नयाँ नेतृत्वले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्ने अपेक्षा व्यक्त गरे। राप्रपा मकवानपुर क्षेत्र नम्बर १ ले आगामी दिनमा विस्तारित बैठक, प्रशिक्षण कार्यक्रम र जनसंपर्क अभियान सञ्चालन गर्ने तयारी गरेको छ।



