मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडा सडक विस्तार गर्दा वैकल्पिक रुट लागू गरिने

हेटौँडा सडक विस्तार गर्दा वैकल्पिक रुट लागू गरिने

हेटौँडा | पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ।

सडक डिभिजन कार्यालय हेटौँडाले काठमाडौँ र चितवनतर्फ जाने सवारी साधनलाई हेटौँडा–१ स्थित चौकीटोल (तिरतिरे धारा)बाट राप्ती पुल हुँदै रातोमाटे निकाल्ने र पूर्वतर्फबाट आउने सवारीलाई समेत रातोमाटेबाट डायभर्ट गर्ने तयारी पूरा गरेको छ।

कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार विस्तार तथा मर्मतको काम चरणबद्ध रूपमा अघि बढाइँदै छ। मुख्य बजार क्षेत्रमा निर्माण कार्य जारी रहने भएकाले सवारी आवागमन प्रभावित नहोस् भनेर रातोमाटे–त्रिवेणीधाम–राप्ती पुल मार्गलाई मुख्य वैकल्पिक रुटका रूपमा प्रयोग गरिने छ।

उनका अनुसार काठमाडौँ वा नारायणगढबाट आएर वीरगन्जतर्फ लाग्ने सवारीलाई मुख्य बजारमा प्रवेश नदिई वैकल्पिक बाटोमै मोडिने व्यवस्था गरिएको छ। पूर्वतर्फ जाने सवारीलाई राप्ती पुल–त्रिवेणी–रातोमाटे मार्ग प्रयोग गराइने छ भने पश्चिमतर्फ चितवन वा काठमाडौँतर्फ गइरहेको सवारीलाई पुनः रातोमाटेबाट राप्ती पुल जोडेर पठाइनेछ।

कान्ति र मदन भण्डारी लोकमार्गतर्फका सवारीलाई कमाने हुँदै रातोमाटे पुर्‍याउने योजना पनि कार्यालयले अघि सारेको छ। वैकल्पिक सडकहरू सञ्चालनयोग्य बनाउन खाल्डाखुल्डी पुर्नेदेखि ग्राभेल प्याक गर्ने काम सुरु भइसकेको अधिकारीले बताए। उनका अनुसार पिच गर्न नसकिए पनि अस्थायी रूपमा सबै रुटलाई यातायात चल्ने अवस्थासम्म सुधारिनेछ।

“हाम्रा वैकल्पिक मार्ग पहिचान भइसकेका छन्। अब करिब एक सातादेखि १० दिनभित्र मुख्य बजार क्षेत्रको सडक विस्तारको काम सक्ने अनुमान छ,” अधिकारीले भने। निर्माण अवधिभर सम्बन्धित क्षेत्रमा पूर्ण रूपमा सवारी आवागमन रोकिने र निर्माणस्थल तथा डाइभर्सन प्वाइन्टमा ट्राफिक संकेत बोर्ड राखिने उनले जानकारी दिए।

सुरक्षाको संवेदनशीलता देखिएकोले राति काम रोकिएको र सुरक्षा निकायको सल्लाहअनुसार अहिले दिउँसोको समयमा मात्रै काम चलिरहेको अधिकारीले बताए। बुद्धचोकदेखि पूर्व–पश्चिमका भागहरूमा चरणबद्ध रूपमा काम गरिँदै छ, र सोही क्रममा सवारी साधनहरूलाई आवश्यकताअनुसार डायभर्ट गरिने उनले स्पष्ट पारे।

सडक विस्तारलाई लिएर स्थानीयस्तरमा केही विरोध देखिए पनि कार्यालयले निर्धारित योजनाअनुसार मङ्सिर २० गतेबाट काम औपचारिक रूपमा सुरु गर्ने तयारी गरेको छ। हेटौँडा बजार क्षेत्रमा २५–२५ गज चौडाइमा सडक विस्तार गर्ने लक्ष्य रहेको कार्यालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img