मकवानपुरकैलाश गाउँपालिकाकालोपत्रे सडकले जोडिँदै कैलाश गाउँपालिका

कालोपत्रे सडकले जोडिँदै कैलाश गाउँपालिका

मकवानपुर | हेटौँडाबाट करिब ४५ किलोमिटरको दूरीमा अवस्थित मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा पहिलोपटक कालोपत्रे सडक पुग्ने भएको छ । वर्षौँदेखि धुलो र हिलोमा सास्ती खेप्दै आएका स्थानीयका लागि यो विकासको नयाँ किरण बनेको छ ।

हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे सडक कैलाशवासीको दैनिक जीवनको हिस्सा बनेको थियो । सिजनमा मात्र चल्ने सडक वर्षा लागेलगत्तै बन्द हुने गर्थे । तर संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा अहिले कैलाशमा सडक विस्तार र स्तरोन्नतिको महाअभियान तीव्र गतिमा अघि बढिरहेको छ ।

त्रिभुवन राजपथको चुनियाँदेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार २१ किलोमिटर दूरीमा पर्छ । ०३७ देखि चलनचल्तीमा आएको यो सडक अहिले पहिलोपटक स्तरीकरण र कालोपत्रे हुने क्रममा पुगेको छ । ‘अब धुलो र हिलोको युग अन्त्य हुँदै छ र कैलाश, जसलाई वर्षौँदेखि ‘दुर्गम’ भनिन्थ्यो, सुगम र समृद्धिको नयाँ यात्रामा निस्कँदै छ,’ गाउँपालिकाका अध्यक्ष लोक मोक्तानले भने ।

गाउँपालिकाले चुनियाँ–नामटार–कालिकाटार सडकलाई विकासको प्रमुख पूर्वाधारका रूपमा अघि सारेको छ । प्रदेश सरकारको १८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको सात किलोमिटर लामो भाल्टार–वनझाँक्री सडकखण्डको स्तरीकरण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिए । ‘प्रदेश सरकारको लगानीमा भइरहेको काम लगभग सकिन लागेको छ,’ उनले भने, ‘बाँकी खण्डको काम संघीय र स्थानीय सरकारको संयुक्त बजेटबाट भइरहेको छ । आगामी वर्षसम्म यो सडकलाई कालोपत्रे गरेर कैलाशलाई कालोपत्रे सडकसँग जोड्ने हाम्रो लक्ष्य छ ।’

यो सडक निर्माण सम्पन्न भएपछि कैलाशका बासिन्दाको हेटौँडासम्मको यात्रा सहज र छोटो हुनेछ । कृषिउपज बजारसम्म सजिलै पुर्‍याउन सकिनेछ भने स्वास्थ्य र शिक्षामा पनि पहुँच बढ्नेछ । भौगोलिक रूपमा माथिल्लो र तल्लो भूभागमा विभक्त यो पालिकामा सडक सञ्जाल विस्तारले दुवै क्षेत्रमा समान विकासको बाटो खोल्ने विश्वास अध्यक्ष मोक्तानले व्यक्त गरे । ‘सडक सञ्जालको विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रमा नयाँ सम्भावनाका ढोका खुल्नेछन्,’ उनले भने, ‘विकट कैलाश अब साँच्चिकै सुगम र समृद्ध बन्ने दिशातर्फ अघि बढेको छ ।’

पालिकाभित्रकै गोगने–गैरीगाउँ मोटरबाटो निर्माणका लागि ४० करोड रुपैयाँको ठेक्का सम्झौता भइसके पनि सडक डिभिजन कार्यालयबाट भोगचलन अनुमति नआउँदा अहिलेसम्म उक्त सडकको काम अघि बढ्न सकेको छैन । उनलाई प्रशासनिक गतिरोधले विकाससँगै नागरिकको अधिकारमा समेत अवरोध पुग्छ भन्ने लागेको छ । ‘प्रशासनिक अवरोधले विकासको गति सुस्त बनाउन सक्छ,’ मोक्तानले भने, ‘त्यसमाथि पालिकाको आन्तरिक स्रोत पनि अत्यन्तै न्यून छ । सीमित बजेटले कर्मचारीलाई तलब खुवाउन धौधौ पर्छ, ठुला आयोजनाका लागि संघ र प्रदेशकै मुख ताक्नुपर्ने बाध्यताले यहाँका नागरिको अधिकारलाई कुण्ठित गर्छ भन्ने लाग्छ ।’

वर्षौँदेखि धुलो र हिलोमा सास्ती खेपिरहेका स्थानीय अब कालोपत्रे सडकको पर्खाइमा छन् । पूर्वजनप्रतिनिधिसमेत रहेका कैलाश–१० का माणिकलाल तामाङ भन्छन्, ‘पहिला–पहिला बिरामी पर्दा डोकोमा बोकेर अस्पताल लैजान्थ्यौँ, अहिले बाटो बन्न थालेपछि राहत मिलेको छ । अब हाम्रा छोराछोरीले सहरजस्तै सुविधा पाउनेछन् र गाउँमै बस्ने वातावरण बन्नेछ ।’ उनले सडक सञ्जालले बसाइँसराइ घटाउने र गाउँमै रोजगारी सिर्जना गर्ने विश्वास पनि व्यक्त गरे ।

०७८ को जनगणनाको तथ्यांकअनुसार २४ हजार ३६२ जनसंख्या भएको कैलाश गाउँपालिकाको अर्थतन्त्र अझै पनि कृषिमै केन्द्रित छ । गाउँपालिकाका करिब ११ हजार मानिस प्रत्यक्ष रूपमा कृषि पेसामा संलग्न छन् । उद्यमशीलता र औद्योगिक क्षेत्र शून्यजस्तै रहेको यो पालिकामा बेरोजगारी र वैदेशिक रोजगारीको समस्या विकराल बन्दै गएको गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले बताए । तथ्यांकअनुसार ५९१ जना पूर्ण बेरोजगार छन् भने ६११ जना ज्याला मजदुर, ३१९ जना यातायात मजदुर र ४९४ जना वैदेशिक रोजगारीमा छन् । गाउँपालिकामा १० जना मात्र उद्यमी, २६ औद्योगिक मजदुर, ८६ सरकारी कर्मचारी, ७९ शिक्षक र ८६ जना गैरसरकारी संस्थामा कार्यरत छन् । १ हजार ६२४ महिला गृहिणीका रूपमा छन् भने १६२ जना स्वरोजगार बनेका छन् । नयाँपत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img