कोशी प्रदेशइटहरी‘प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरले पायो छैटौं प्रधानमन्त्री

‘प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरले पायो छैटौं प्रधानमन्त्री

विराटनगर | विराटनगर, औद्योगिक राजधानी मात्र होइन, अब ‘प्रधानमन्त्री जन्माउने सहर’ को उपमा समेत थप प्रष्ट भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि विराटनगरले छैटौं प्रधानमन्त्री पाएको छ। यससँगै देशले पहिलो महिला कार्यकारी नेतृत्व पनि प्राप्त गरेको छ।

यसअघि पाँच जना प्रधानमन्त्री उदाएको विराटनगरमा अब सुशीला कार्कीको नाम नयाँ इतिहासका पानामा अंकित भएको छ। कार्की यसअघि नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान कायम गरिसकेकी थिइन्। अहिले उनले पहिलो महिला प्रधानमन्त्रीको रूपमा अर्को माइलस्टोन थपेकी छन्।

विराटनगर सहरको परिचय केवल उद्योगधन्दामै सीमित छैन। हरेक राजनीतिक परिवर्तनमा यहाँका व्यक्तित्वहरूले निर्णायक भूमिका खेलेका छन्। राजनीतिक आन्दोलनदेखि विचार निर्माणसम्म विराटनगरले देशलाई दिशानिर्देश गर्दै आएको छ। यही यात्रामा सहरको अर्को पहिचान बनेको छ, ‘प्रधानमन्त्री जन्माउने सहर’।

नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालादेखि लिएर उनका दाजु मातृका प्रसाद कोइराला, बहुदलीय लोकतन्त्र पुनःस्थापनापछि चारपटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला, पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी, पञ्चायतकालीन प्रधानमन्त्री नगेन्द्र रिजालसम्म विराटनगरले योगदान दिएको छ। अब यो सूचीमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नाम पनि जोडिएको छ।

देशको कार्यकारी नेतृत्वमा विराटनगरले दिएको योगदानले यहाँको राजनीतिक महत्त्वलाई अझै फराकिलो बनाइदिएको छ। कार्कीको उदयले केवल सहरको गौरव मात्र बढाएको छैन, नेपालको राजनीतिक यात्रामा महिलाको ऐतिहासिक उपस्थिति सुनिश्चित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img