समाजइटहरीमा गोली, दुईको मृत्यु : जेनजी पुस्ताको आन्दोलन हिंसात्मक, कोशी प्रदेशभर अशान्ति

इटहरीमा गोली, दुईको मृत्यु : जेनजी पुस्ताको आन्दोलन हिंसात्मक, कोशी प्रदेशभर अशान्ति

इटहरी | जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सोमबार हिंसात्मक बनेपछि कोशी प्रदेश अशान्त बनेको छ। विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच ठोक्कामठोक्की हुँदा इटहरीमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। १५ भन्दा बढी घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ।

घटनापछि इटहरी उपमहानगरपालिका क्षेत्रमा त्रास फैलिएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुनसरी जिल्ला प्रशासनले तत्काल प्रभावबाट कफ्र्यु आदेश जारी गरेको छ।

सोमबार दिउँसो प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका भवनमा आक्रोश स्वरूप आगजनी गरेका थिए। आगलागीका कारण करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। भवनभित्रका भौतिक संरचना मात्र नभई महत्त्वपूर्ण कागजी अभिलेखहरू समेत जलेर नष्ट भएका छन्। आगलागी नियन्त्रणमा लिन दमकल र सुरक्षाकर्मी लामो समयसम्म खटिएका थिए।

परिस्थिति नियन्त्रण बाहिर जाँदा प्रहरीले लाठीचार्ज, आँसु ग्यास मात्रै होइन, गोलीसमेत प्रहार गरेको हो। गोली लागेर दुई युवाको घटनास्थलमै मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।

स्थिति बिग्रिँदै गएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरी क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो। आदेश लागू भएपछि प्रमुख चोक, बजार, राजमार्ग र आसपासका क्षेत्रमा पैदल हिँड्न समेत रोक लगाइएको छ। सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।

कफ्र्युका कारण इटहरीका सडक सुनसान बनेका छन्। बजार पसल पूर्ण रूपमा बन्द छन् भने सर्वसाधारण घरभित्रै सीमित भएका छन्।

जेनजी पुस्ताको आन्दोलन तराईका सहरहरूमा मात्रै सीमित रहेन। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि आन्दोलन उग्र बनेको छ। दमक र बिर्तामोडमा प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गरेको छ।

यस्तै, राजधानी विराटनगरस्थित प्रदेशसभा भवन अगाडि पनि ठूलो संख्यामा प्रदर्शनकारीको भिड देखियो। सभा भवन वरपर निषेधाज्ञा लागू भए पनि प्रदर्शनकारीले नारा–जुलुससहित प्रदर्शन गरेका थिए।

सुनसरीको सदरमुकाम इनरुवामा पनि युवाहरूले सडक अबरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। इलाम, खोटाङलगायतका पहाडी जिल्लामा समेत जेनजी पुस्ता सडकमा उत्रिएको खबर आएको छ। यसले आन्दोलन प्रदेशव्यापी रूपमा फैलिँदै गएको संकेत दिएको छ।

प्रदर्शनकारीहरूको आक्रोश मुख्यतया प्रधानमन्त्री ओलीप्रति केन्द्रित देखिएको छ। उनीहरूले ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै “सरकार जनताको आवाज सुन्न तयार छैन, हाम्रो भविष्य खतरामा छ” भन्ने जस्ता नाराबाजी गरिरहेका छन्।

युवाहरूले सरकारको नीति–निर्णयप्रति असहमति प्रकट गर्दै निरन्तर दबाब सिर्जना गरिरहेका छन्।

प्रमुख सहरमा यातायात अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ। बजार, पसल, विद्यालय र सरकारी कार्यालयमा उपस्थिति न्यून बनेको छ। लामो समयसम्म आन्दोलन जारी रहे दैनिक जीवन थप कष्टकर बन्ने चिन्ता स्थानीयमा बढ्दै गएको छ।

प्रदेशमा अहिले अशान्ति र अनिश्चितताको वातावरण छ। आन्दोलन अझ चर्कँदै जाने संकेत देखिएको छ भने आगामी दिनमा अवस्था थप जटिल बन्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img