मकवानपुर — स्थानीय निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणमा असहमति राख्दै नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।
उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बेवास्ता गरेको भन्दै पार्टी परित्याग गरेको बताए ।
पोखरेल र डीसी नेकपा एमाले विभाजनपछि नेकपा (एस) मा आवद्ध थिए । उनीहरु दुवैले तत्काल कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताएका छन् ।
उनले पार्टीभित्र हेटौंडा उपमहानगरको मेयरको दाबीसमेत गरेका थिए । पोखरेललाई पछाडि पार्दै नेकपा (एस) की नेत्रृ मीना लामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी छिन् ।