इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोरियाबाट फर्केकालाई फेरि बाटो खुल्यो

काठमाडौँ — दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि लैजाने भएको छ । त्यसका लागि कोरियाले २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा फर्केका ११९ प्रतिबद्ध कामदारको नामसमेत पठाइसकेको छ ।प्राथमिकताका आधारमा छनोट भएका ५० जनालाई कात्तिक १० गते लैजाने कोरियाको भनाइ छ । ती कामदार सिधा उडानमार्फत मात्रै जान पाउनेछन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सिधा उडानमार्फत कोरिया कामदार पठाउन निर्देशिका संशोधन गरेको छ । यसअघि ट्रान्जिट विमानस्थल प्रयोग गरी जान पाउने प्रावधान थियो । जसले गर्दा कामदारले कोरिया जाने टिकट सस्तो दरमा पाउँदै आएका थिए । कोरोना जोखिम देखाएर कोरियाले सिधा उडान हुनुपर्ने माग गर्दै आएको छ । ‘कोरियाले सिधा उडान, नेपाल र कोरियाको क्वारेन्टाइनको खर्च कामदारले नै बेहोर्नुपर्ने र सीटीईभीटीमा परीक्षा हुनुपर्ने सर्त राखेको थियो । दुई वटा सर्त पूरा भएको छ,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘तत्काल भाषा परीक्षा हुँदैन । अब हुने भाषा परीक्षा पनि सीटीईभीटीमै हुनेछ ।’ ती अधिकारीले सरकारले निर्देशिका संशोधन गरेपछि प्रतिबद्ध कामदार पठाउन समस्या नभएको बताए । निर्देशिका संशोधनका अतिरिक्त अब वैदेशिक रोजगार विभाग टिकट खरिदको प्रक्रियामा संलग्न नहुने भएको छ । कोरियन एयरलाइन्सको मात्र सिधा उडान भएकाले विभागले टिकट खरिद प्रक्रियाबाट हात झिकेको हो । ‘कोरियामा कोरियन एयरलाइन्सको मात्रै उडान छ । अरूको छैन । टेन्डरलाई प्रक्रियामा लैजान कम्तीमा तीन वटा आवेदन पर्नुपर्छ । त्यो नभएपछि अब भाडादर कायम गर्नेमा विभागको भूमिका छैन,’ ती अधिकारीले भने । सिधा हवाई उडानका लागि टिकटको मूल्य तय गर्न विभागले टेन्डरसमेत आह्वान गरेको थियो । टेन्डरमा कोरियन एयरलाइन्सको मात्रै आवेदन परेपछि विभागले सार्वजनिक खरिद ऐनअनुसार नभएको भन्दै रद्द गरेको छ । निर्देशिका संशोधनपछि प्रतिबद्ध कामदार जाने बाटो खुला भए पनि भाषा परीक्षा दिएर बसेका हजारौं नेपालीको कोरिया यात्रा अझै अनिश्चित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीबाट नहटाएका कारण पनि भाषा परीक्षा उत्तीर्ण भएकाको कोरिया उडान थप अन्योलमा परेको हो । कोरोना नियन्त्रण गर्न नेपालमा लकडाउन हुनु एक महिनाअगाडि नै नेपालले कोरियासँग समन्वय नगरी एकतर्फी रूपमा फागुन २१ देखि कामदार पठाउने प्रक्रिया स्थगित गरेको थियो । त्यसरी स्थगित गरिएको रोजगार प्रक्रिया अझै सुरु भएको छैन । जसले गर्दा रोस्टरमा छानिएका नेपाली कामदारको निम्ति ढोका बन्द नै छ । सबैभन्दा बढी कोटा छुट्याएको वर्ष १ हजार २७ जना मात्रै गए । सन् २०२० का लागि कोरियाले १२ हजार ९ जनाबाट ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । जसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना बनाएको थियो । सन् २०१७, ०१८, ०१९ मा पास भई रोस्टरमा परेकाहरूसमेत जान रोकिएका छन् । नियमित प्रक्रियाबाहेक प्रतिबद्ध कामदारका रूपमा छनोट भएका दुई हजार कामदार पनि जान रोकिएका छन् । चार वर्ष कोरिया बसेर फर्केका कामदारलाई सोही रोजगारदाताले चाहेमा लैजान सक्छन् । लकडाउनपछि नियमिततर्फ ५ हजार र प्रतिबद्धतर्फ एक हजार गरी ६ हजार जनाको कम्पनीसँगको सम्झौता आएको थियो । धेरैजसो कामदारको भिसा आएर पनि त्यसको मिति गुज्रिसकेको छ । कोरिया जाने बाटो खुले पनि कामदारहरूले ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता छ । कोरिया जाने कामदारले कोरियामा १४ दिन होटल क्वारेन्टाइन बस्नुपर्छ । त्यसका लागि १५ सय डलर खर्च कामदारले नै बेहोर्नुपर्छ । त्यस अतिरिक्त खुला बजारमा तोकिएको हवाई भाडासमेत कामदारले बेहोर्नुपर्ने बाध्यता छ । यसअघि कोरिया जान ४११ डलर मात्र तिर्नुपर्थ्यो । क्वरेन्टाइन र हवाई टिकटको खर्च भने प्रतिबद्ध कामदारले पनि बेहोर्नुपर्छ । कोरियामा नाम निस्कनु सरकारी सेवामा नाम निकालेजत्तिकै गाह्रो भएको रासकोट–१ कालीकोटका २५ वर्षीय अनन्त आचार्यले बताए । ‘लामो समयसम्म कडा मिहिनेत गर्नुपर्‍यो । भाषा सिक्न काठमाडौंमा आएर बस्नुपर्‍यो । ५ लाखजति सकियो,’ उनले भने, ‘अब लाग्ने अरू सबै खर्च आफैं तिर्न पनि तयार हुनुपर्ने बाध्यता छ ।’

सम्बन्धित समाचार

२३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव, सेवा प्रवाहमा बाधा

काठमाडौं। संघीय सरकारले स्थानीय तहमा आवश्यक कर्मचारी खटाउन नसक्दा देशभरका २३० स्थानमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ, जसले गर्दा धेरै तहहरु निमित्त प्रमुख प्रशासकीय अधि…

इन्फो नेपाल संवाददाता

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्याम…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दक्षिण कोरिया नेपाली युवाको लोकप्रिय रोजगार गन्तव्य

काठमाडौं | पछिल्ला केही दशकदेखि दक्षिण कोरिया नेपाली युवाहरूको लागि आकर्षक रोजगार गन्तव्यका रूपमा उदाउँदै आएको छ। यो तथ्य रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी हुने नेपाली…

इन्फो नेपाल संवाददाता