इन्फो नेपाल — सञ्चारको सञ्जाल

बर्खा नलाग्दै पहिराको चिन्ता

बलेवा: आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन । घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ । हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन । बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिराले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ । गत भदौ २१ गतेबाट सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन । दशैँका बेला एक साता निरन्तर वर्षा हुँदा पहिरो निरन्तर बगिरह्यो । गाउँले घर छाडेर छिमेकमा बसे । हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँले आउँदो बर्खायाममा फेरि घर छाड्नुपर्ला कि भन्ने चिन्तामा छन् । “हिउँदमा त दिन काटियो तर बर्खामा घर बस्न सकिँदैन”, स्थानीय कुलराज शर्माले भने, “अन्त जाने ठाउँ छैन, घरमै बस्ने वातावरण छैन ।” पहिराका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छाडेर हिडे । पोखरामा रहेका छोराले कोठा भाडामा लिएर उनि पोखरा लागे । कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घर गोठ चर्केका छन् । “पहिराले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ, हामी त दिनरात तड्पेर बसेका छौँ”, शर्मा भन्छन, “घरगोठ सग्ला छन् तर भरिला भएनन् ।” आउँदो बर्खाको चिन्ता हिउँदबाटै सुरु भएको शर्माको गुनासो छ । अघिल्लो बर्खा सकिनैलाग्दा सुरु भएको भीषण पहिराबाट हिउँदमा भएको वर्षामा समेत माटो बगिरहेको थियो । “पहिराको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ, पूर्ण प्रभाव परेका सात घर छन्”, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, “पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानन्तरण गर्न सकिएन, यो कठिन काम रहेछ ।” हिउँदभरि प्रयास गरेर पहिराको अध्ययन गर्ने, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काममात्रै गर्न सकिएको उनले बताए । बागलुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ । घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउछन् । “हामीले बस्ती स्थानान्त्रण गर्न खोजेका छौँ, तर जग्गाको अभाव छ”, उनले भने, “वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ र ?” वडामै रहेको जग्गामा बस्तीमात्रै स्थानान्तरण गरे पनि पीडित घर छाडेर हिँड्ने मानसिकतामा नरहेको गौतम बताउछन् । खेतीपातीका कारण सर्वसाधारणले आफू बस्दै आएको ठाउँ छाड्न नमानेको उनले बताए । डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ–११ को रायडाँडास्थित रामतोलामा प्रदेश सरकार र बागलुङ नगरपालिकाको ध्यान जान आवश्यक छ । “जिल्लास्थित बिपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर बस्ती स्थानन्तरणका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छौँ । पहिराले जैमिनी नगरपालिका–१ वडारको वस्ती पनि जोखिममा छ । गत साताको वर्षापछि पहिरोले माटो बगाउँदा बृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान बगाएको छ । वडारका केही परिवार पहिराका कारण विस्थापित हुने अवस्थामा छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क