इन्फो नेपाल — सञ्चारको सञ्जाल

यम बुद्धको शालिक बनाउने, मकै पोल्नेलाई लखेट्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत शुक्रबार र्‍यापर यम बुद्धको शालिक बनाउने निर्णय लियो । महानगरका मेयर बालेन्द्र साह (बालेन) नेतृत्वले लिएको निर्णयअनुसार महानगरले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । महानगरको यो निर्णयले केही समयपछि नै सामाजिक सञ्जालमा हलचल मच्चिन थाल्यो । कमैले मेयर बालेनको निर्णयलाई समर्थन गरे भने अधिकांशले विरोध गरे । बालेनको समर्थनमा उत्रिएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु एकाएक उनीमाथि आक्रोशित बने । हुन त मेयर बालेनका अधिकांश समर्थक युवा नै छन् । काठमाडौंको मेयरमा चुनाव लड्नेदेखि मेयर निर्वाचित भइसक्दासम्म उनका लागि आएका समर्थनका आवाजले सामाजिक सञ्जाल भरिन्थे । तर धेरैले आशा गरेका मेयरले गरेका पछिल्ला निर्णयहरुले उनीहरुलाई नै निराश बनाएको देखिन्छ । चाहे फुटपाथमा मकै बेच्नेमाथिको ज्यादती होस् या दिवंगत र्‍यापर यम बुद्धको सालिक बनाउने निर्णयमा होस् । बालेनको यस निर्णयमाथि आक्रोश पोख्दै कैयौँले आत्मह'त्या गर्नेको शालिक बनाउन राज्यको बजेट खर्च नहुनुपर्ने बताइरहेका छन् । महानगरले आर्थिक वर्ष ०७९–८० को कुल २५ अर्ब ४१ करोड ९६ लाख बजेटमध्ये यम बुद्धको शालिक बनाउन १५ लाख रुपैयाँ बजेट छुट्याइयो । चर्को आलोचना भएपछि निर्णय लिएको भोलिपल्टै बालेनले निर्णय फेरबदल गर्दै आफ्नो व्यक्तिगत तबलबाट सालिक बनाउने घोषणा गरे । शनिबार विहान बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईँहरुको दिन शुभ रहोस् ।” बालेनले यस्तो बताइरहँदा पनि जनआक्रोश साम्य भएन । उनको यही स्ट्याटसमा कमेन्ट गर्दै बहुसंख्यक सञ्जाल प्रयोगकर्ताले बालेनको आलोचना गरेका छन् । फेसबुक प्रयोगकर्ता गंगाराम खनाल लेख्छन्, “मेयर जस्तो पदमा बसेर केटाकेटीजस्तो बुद्धि गर्न पाइँदैन ।” त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता सरोज बस्नेतले कमेन्टमा लेखेका छन्, “पर्सनल पैसाले शालिक बनाएर आफ्नै जग्गामा राख्नुस् सार्वजनिक स्थानमा हैन ।” अधिकांश फेसबुक प्रयोगकर्ताहरुले आफ्नै तलबले बनाए पनि यम बुद्धको शालिक सार्वजनिक स्थलमा राख्न नहुने भन्दै आक्रोश पोखेका छन् । शालिक बनाउने नै भए यम बुद्धको जन्मथलो धनकुटामा बनाउनुपर्ने समेत कमेन्ट गरेका छन् । त्यस्तै बालेनले बजेटको दुरुपयोग गरेको र शालिकको साटो विपन्न वर्गका नागरिकलाई सहयोग गर्नुपर्ने दिएका छन् । फेसबुक प्रयोगकर्ता लोकबहादुर कार्कीले तलबले शालिक निर्माण गर्नुभन्दा अपांगता भएका दृष्टिविहीन, पैसाको अभावमा उपचार गर्न नपाएका नागरिक गरिब दिनदुःखीलाई सहयोग गरे लाभदायक हुने सुझाव दिएका छन् । आफूलाई इन्जिनियरका रुपमा बढी चिनाउने बालेनको पृष्ठभूमि पनि र्‍याप नै हो । महानगर स्रोतले बालेनको ठाडो निर्देशनमा सालिक बनाउन १५ लाख छुट्याउने प्रस्ताव अघि बढाइएको थियो । बालेनको समर्थन गर्नेमध्ये कलाकार तथा निर्देशक निश्चल बस्नेत यसो लेख्छन्, “यम बुद्धको शालिक सानो होस् तर त्यो सालिकले देखाउने सपना ठूलो होस्, थोरै रकम शालिक निर्माणमा र बाँकी रकम नेपालको हिपहप, नेपहपका उदाउँदै गरेका कलाकारहरुलाई अझ प्रगतिशील बनाउन फण्ड गरियोस् नामले यमबुद्ध होइन कामले यमबुद्ध बन्न खोज्नेलाई अवसर बनोस् यो । कलाकार बन्न गाह्रो छ, बनिसकेपछि झनै गाह्रो छ राज्यले अलिकति साथ त दिनैपर्छजस्तो लाग्छ ।” यसअघि शालिक बनाउनकै लागि यति धेरै बजेट विनियोजन नभएको महानगरका कर्मचारीहरु बताउँछन् । यम बुद्धले लण्डनमा आत्मह'त्या गरेका थिए । वास्तविक नाम अनिल अधिकारी रहेका यम बुद्धलाई नेपालमा हिपहपका गुरु मानिन्छ । चुनावअघि सजिलैसँग काठमाडौंको फुटपाथ व्यापार व्यवस्थित गर्ने र फुटपाथ ठूलो समस्या नरहेको बताउने बालेन नेतृत्वकै निर्देशनमा नगर प्रहरीले बालुवाटार र थापाथलीमा मकै बेच्नेमाथि लछारपछार गर्‍यो । काठमाडौं महानगरपालिकाका नगरप्रहरीद्वारा मकै बेच्नेमाथि भएको लछारपछार विवादमा मुछिएसँगै बालेनको चर्को आलोचना भयो । बालेनले महानगरको हकहित भन्दा व्यक्तिगत चाहनामा एकलौटी निर्णय गरेको महानगरका कर्मचारीहरु बताउँछन् । कतिपय फेसबुक प्रयोगकर्ताहरु विश्लेषक विज्ञहरुले जनप्रतिनिधिको तलब नहुने बताएका छन् । स्थानीय तहका प्रतिनिधिहरुले प्रदेश सरकार निर्धारण गरेको कानुनी मापदण्ड अनुसार सेवासुविधा पाउने प्रावधान छ । वाग्मती प्रदेशले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार रुपैयाँ हुन्छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क