इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा कपडा उद्योगलाई पुनर्जीवन दिन सक्ला सरकार ?

हेटौँडा । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग फेरि चर्चामा आएको छ । पटक–पटक सञ्चालनको घोषणा भएर पनि व्यवहारमा अघि बढ्न नसकेको उद्योग सञ्चालनका लागि यसपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै चासो देखाएपछि हेटौँडामा नयाँ आशा पलाएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योग २०५७ सालदेखि बन्द छ । कुनै समय हेटौँडाको औद्योगिक पहिचान र रोजगारीसँग प्रत्यक्ष जोडिएको यो उद्योग बन्द भएपछि यहाँको उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा समेत असर परेको थियो । तर, अहिले प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष अग्रसरता, मन्त्रीस्तरीय अनुगमन र स्थानीय तहको चासोले उद्योग पुनः सञ्चालनको सम्भावना बढाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले केही समयअघि उद्योगको अनुगमन गरेकी थिइन् । उनले प्रतिनिधिसभामा समेत हेटौँडा कपडा उद्योग यसै वर्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएकी छन् । मन्त्री यादवका अनुसार रुग्ण उद्योगमध्ये हेटौँडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर अघि बढाउने तयारी छ ।

प्रधानमन्त्री कार्यालयबाट हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामासँग पनि उद्योग सञ्चालनबारे छलफल भएको छ । नगर प्रमुख लामाले उद्योग सञ्चालनका लागि उपमहानगरले आवश्यक सहयोग गर्न तयार रहेको बताएकी छन् । उनले उद्योग सञ्चालनमा आए हेटौँडाको रोजगारी, व्यापार र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताएकी छन् ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनका अनुसार उद्योगका धेरै मेसिन र भवन अझै पनि सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा छन् । केही मेसिनमा खिया लागेको भए पनि पूर्ण रूपमा काम नलाग्ने अवस्थामा नपुगेको बताइएको छ । भवनहरू पनि सामान्य मर्मतसम्भारपछि प्रयोग गर्न सकिने दाबी गरिएको छ ।

उद्योग परिसरमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा सरसफाइको कामसमेत सुरु गरिएको छ । वर्षौँदेखि झाडीले ढाकिएको उद्योग परिसरमा पहिलो पटक ठूलो मात्रामा सरसफाइ भइरहेको छ । भवनको माथिल्लो भागमा उम्रिएका बोटबिरुवा हटाउनेदेखि परिसर व्यवस्थित गर्ने काम भइरहेको छ ।

२०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०३५ सालदेखि सञ्चालनमा आएको थियो । उद्योग सञ्चालनमा रहँदा हेटौँडा र आसपासका धेरै नागरिकले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका थिए । कपडा उद्योगसँगै बुटवल धागो उद्योग र कपास खेतीको उत्पादन प्रणाली पनि जोडिएको थियो । कपडा उद्योग बन्द भएपछि ती क्षेत्र पनि कमजोर बन्दै गएका थिए ।

यसअघि पनि विभिन्न सरकारले हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने घोषणा गरेका थिए । निजीकरणको प्रयासदेखि बजेट विनियोजन र अध्ययन समितिसम्मका काम भए पनि उद्योग सञ्चालन हुन सकेन । नेपाली सेनाले समेत उद्योग सञ्चालनको सम्भावना अध्ययन गरी सरकारलाई प्रस्ताव पेस गरेको थियो । तर, ती सबै प्रयास घोषणामै सीमित बने ।

अहिले भने प्रधानमन्त्री कार्यालयकै अग्रसरता देखिएपछि स्थानीय स्तरमा अपेक्षा बढेको छ । तर, उद्योगको स्वामित्व, जग्गा व्यवस्थापन, पुराना मेसिनको अवस्था, लगानी स्रोत र सञ्चालन मोडालिटी अझै स्पष्ट हुन बाँकी छ । उद्योगको केही जग्गा अन्य उद्योगलाई भाडामा दिइसकिएको र उद्योगको विवरण सरकारी अभिलेखबाट समेत हटिसकेको विषयले पुनः सञ्चालनमा चुनौती थपेको छ ।

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आए हेटौँडाको औद्योगिक पहिचान फर्किने मात्र होइन, स्थानीय रोजगारी सिर्जना, साना व्यवसायको विस्तार र उत्पादनमूलक अर्थतन्त्रमा पनि सहयोग पुग्ने देखिन्छ ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू फर्किएनन्

हेटौँडा । छठ पर्व मनाउन सर्लाहीस्थित घर जाने सबै तयारी पूरा भइसकेको थियो। कपडा र पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। बुधबार राति करिब १ बजे उठेर अवधेश यादवले श्रीमती पुन…

बसन्त भण्डारी

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते