काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालयदेखि विश्वविद्यालयसम्मका सुधारका पाँच निर्देशन दिएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत तीन बुँदामा जानकारी दिँदै शिक्षा क्षेत्रका चुनौती समाधान गर्न ठोस कदम चालेको बताए।
मन्त्री पुनका अनुसार अब नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य हुनेछ। त्यसका लागि प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिइएको छ।
यस्तै, केही विश्वविद्यालयले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म समय लिने गरेको भन्दै उनले यस्तो ढिलासुस्ती विद्यार्थीका लागि अपूरणीय क्षति भएको बताए। अब बढीमा तीन महिनाभित्रै नतिजा निकाल्नुपर्ने र निर्देशन पालना नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने मन्त्री पुनले चेतावनी दिए।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरको हाता सफाइ र व्यवस्थापनमा समेत उनले ध्यान दिएका छन्। “ठूला रुख नकटाई झाडी फाँडेर बगैँचा र फुटपाथ बनाउनुपर्छ,” उनले निर्देशनमा उल्लेख गरेका छन्।
मन्त्री पुनले शिक्षा क्षेत्रमा सुधारका यी निर्देशन तत्काल लागू हुने बताउँदै विद्यार्थी र अभिभावकको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



